विदेश । स्पानिस फुटवल क्लब बार्सिलोना चलिरहेको स्पानिस ला-लिगामा तेस्रो स्थानमा उक्लिएको छ । शनिवार भएको खेलमा बार्सिलोनाले ग्रानडालाइ ४-० ले पराजित गरेको छ । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई/दुई गोल मद्दतमा बार्सिलोनाले जित हात पारेको हो । ग्रानडाको मैदानमा भएको खेलमा बार्सिलोनाले तीन गोल पहिलो हाफमा गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो ।
खेलको १२औं मिनेटमै एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा ग्रिजम्यानकै पासमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे । ४२औं मिनेटमा मेस्सीले प्रिकिकमा गोल गर्दै पहिलो हाफमै ३-० को अग्रता दिलाए । ६३औं मिनेटमा ग्रिजम्यानले नै व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को अग्रता बनाए ।
७८औं मिनेटमा जेसस भालेजो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि ग्रानडा १० खेलाडीमा समेटिएको थियो । जितपछि बार्सिलोना १८ खेलबाट ३४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट रियल ३७ अंकसहित दोस्रो स्थानमा छ । १५ खेलमात्र खेलेको एट्लेटिको मड्रिड ३८ अंकसहित शीर्ष स्थानमा छ । उता दोस्रो स्थानको रियल मड्रिड भने ओसासुनासंग गोलरहित बराबरीमा रोकिएको छ । (एजेन्सी)








