किटानी जाहेरी दिन जाँदा प्रहरीसँग झडप

0 Shares

देश । सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय परिसरमै नेपाली कांग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फबाट पाँच दर्जन बढी घाईते भएका छन् । रामनगर गाउँपालिका वडा नम्बर ७ निवासी महेन्द्र रामको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी दिन भित्र पस्ने वितिकै प्रहरीले एक्कासी महिला नेता कार्यकर्तामाथि पनि लाठी प्राहर गरेको कांग्रेस जिल्ला सभापति एवं संघीय सांसद् नागेन्द्रकुमार रायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्लाही क्षेत्र नम्बर ४ का तर्फबाट संघीय सांसद डा. अमरेशकुमार सिंह सहित प्रदेश सभा सांसद विरेन्द्र सिंह र उपेन्द्र कुशवाहा सहित नेपाली कांग्रेस कार्यकर्ता किटानी जाहेरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयमा प्रहरीले कुनै सूचना वा माईकिङनै नगरी महिला कार्यकर्ताहरुमाथि एक्कासी लाठी प्रहार गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सांसद सिंहले प्रहरी कार्यालय पस्ने वितिकै प्रहरीले अन्धाधुन्ध लाठी र अश्रुग्याँस प्रहार गरेको बताए । उनले भने ,’हाम्रा महिला कार्यकर्ता सहित दुई दर्जन बढी नेता कार्यकर्ता घाईते भएका छन्, प्रहरी दमन विरुद्ध हाँमी अझ सशक्त संघर्षका कार्यक्रम अगाडी बढाउने छौं ।’ यस्तै , नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा प्रहरीले दुर्व्यवहार गरेको सभापति रायले उल्लेख गरेका छन् । अबिलम्ब किटानी जाहेरी दर्ता गरी पीडितलाई न्याय दिनेतर्फ सरकार सचेत नभए बाध्य भएर चरणबद्ध रुपमा सशक्त आन्दोलनको कार्यक्रम तय गरी नेपाली कांग्रेस सर्लाही आन्दोलन गर्न बाध्य हुने र सोको जिम्मेवार प्रहरी प्रशासन नै हुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै प्रहरीले भने जबर्जस्ती कार्यालय भित्रै ठूलो संख्यामा नेता कार्यकर्ता छिर्न खोजेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको बताएको छ । ‘ढुंगा प्रहार गर्दै कार्यालयमा समेत तोडफोड गर्ने नियत देखिएपछि भिडलाई नियन्त्रण गर्न लाठी चार्ज सहित ३१ सेल अश्रुग्याँस प्रहार गर्नु प¥यो’ सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले बताए । उनको अनुसार प्रहरी तर्फ २२ जना घाइते भएका छन् ।

कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको गत असोज २१ गते कुटपिटबाट हत्याको भएको र उक्त घटनामा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाउँदै आएको छ । कांग्रेसले मृतक महेन्द्र रामलाई शहीद घोषणा गर्न र हत्यामा संलग्नहरुलाई तत्कालै पक्राउ गरेर मुद्दा दायर गर्न माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडी नै प्रदर्शन गरेको हो । उपचार गर्दागर्दै मृत्यु भएका रामको शव अहिलेपनि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमै रहेको छ । कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल नियन्त्रणमा लिई कार्बाहीको दायरामा ल्याउनुपर्ने र मृतकलाई शहिद घोषणा तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राखेको छ ।

कमेन्ट गर्नुहोस्