देश । नेपालमा गत चैत्र ११ गतेदेखि लकडाउन छ । चैत्र ९ गते बेलुकी दोस्रो कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएसँगै १० गते बसेको मन्त्रीपरिषदको वैठकले लकडाउन गर्यो । कोरोना भाइरसको महामारी रोक्न सामाजिक दुरी कायम गर्नु पर्ने भएकोले लकडाउन गरिएको हो । तर , नेपालमा संक्रमित संख्या बढेको बढ्यै छ । यसको कारण भारतबाट नेपाल भित्रिएकालाई व्यवस्थित रुपले क्वारेन्टाइनमा राख्न नसक्नु , परिक्षणको दायरा बढाउन नसक्नु र परिक्षण गरिने किटको गुणस्तरीयतामा आशंका ।
पहुँचवालाहरुको जाँच सजिलै हुने, सामान्य नागरिकले चाहिँ आवश्यक पर्दा पनि बेलैमा कोरोना परीक्षण गर्न नपाउने विभेदपूर्ण स्थिति देखा पर्न थालेको छ । र, यो विभेदकारी व्यवहारको सुरुवात ठूला नेता, मन्त्री र सांसदबाटै भएको थियो । किनकी कतै आवश्यक परेको स्थानमा किट अभावले गर्दा चेक जाँच हुनसकेको छैन भने पहुँचवालाहरुको जाँच सजिलै भईरहेको छ । यस्तै देखिएको छ काठमाडौं–१४ स्थित कलंकी, वीपीमार्गमा डेरा गरी बस्ने एक दम्पतीको हकमा । लकडाउन घोषणा भएपछी नवलपरासीमा रहेको माइती–ससुरालीको मेजमानी खान पुगेको दम्पति काठमान्डौ फर्किएर घरबेटी र टोलका मानिसहरुले सुझाएपछी कोरोना भाइरस परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा पुगे ।
प्रयोगशालामा स्वाब दिएको दुई दिनपछि मंगलबार श्रीमान–श्रीमती दुबैको रिपोर्ट आयो । रिपोर्टमा श्रीमानलाई कोरोना नेगेटिभ देखियो । तर, साथमै रहेकी २४ वर्षे श्रीमतीमा पोजेटिभ देखियो । रिपोर्ट आएको खबरसँगै मंगलबार राति नै बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालबाट युवतीलाई लिन एम्बुलेन्स आइपुग्यो । अहिले श्रीमान कलंकीस्थित कोठामा एक्लै ‘डेरा क्वारेन्टाइन’ मा बसेका छन् । घरबेटीले बाहिरैबाट दूध इत्यादि दिन्छन् । श्रीमतीचाहिँ कोराना अस्पतालमा छिन् ।
घरमा संक्रमित देखिइसक्दा पनि कन्ट्याक ट्रेसिङ र टेस्टिङ केही पनि नगरिएको गुनासो संक्रमित महिलाको श्रीमानको छ । उनि सेल्फ आइसोलेसनमा छन् यद्दपी उनि डेरामा बस्ने घरमा त्यस दुइ दिनको अवधिमा आएकाहरुको कन्ट्याक ट्रेसिङ र टेस्टिङ हुनसेकेको छैन । ‘हामीले पटक पटक बुधबार देखि भनिरहेका छौ तर शुक्रबार भइसक्दा पनि अझै घरमा आएकोहरुको ट्रेसिङ भएको छैन । घरबेटी आत्तिनु भएको छ , छिमेकीहरुले दबाब दिएका छन्’संक्रमित महिलाका श्रीमानले भने ।
उनि आफै श्रीमतीलाई कसरि संक्रमित भयो भन्नेमा छन् । उनि सहित उनको ससुरालीमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनकी श्रीमती एक दिन मात्र काममा गरेकी थिइन् । ‘कहा बात सर्यो कोरोना हामी सोचमा छौ । किनकी ससुरालीमा कसैलाई छैन । उनि एक दिन आफ्नो अफिस गएकी थिइन् अनि हामी परिक्षणका लागि टेकु पुगेका थियौ’ उनले भने । उनि टेकुमा जाँच गर्दा जादा बस्नु परेको भिडलाई लिएर शंका गरिरहेका छन् ।
उनका घरबेटीले आफ्नो समस्या वडा सदस्य, वडा अध्यक्ष हुँदै काठमाडौंका मेयरसम्म पुर्याएका छन् तर सुनुवाई कहिँ कतैबाट भएको छैन । स्वास्थ्य विभागमा पनि कुरा नभएको होइन । मंगलवार संक्रमित भेटिएर शुक्रबारसम्म पनि स्वाब सङ्कलन नहुदा स्थानीयमा त्रास बढेको छ नै घरबेटीलाई मानसिक तनाव पनि थपिएको छ । संक्रमित महिला भेटिएको घरमा १० जनाछन् ।
संक्रमितका श्रीमानले समयै परिक्षण नगर्दा यदि अन्यमा संक्रमण भए फैलिन सक्ने बताए । आफु सेल्फ आइसोलेसनमा रहेको र आउँदो साता फेरी जाँच गराउने उनले बताए । ‘म सेल्फ आइसोलेसनमा छु तर घरमा रहेका र उनीहरुको सम्पर्कमा आएकाहरुको समयमै टेस्ट नहुदा उहाहरुलाई मानसिक तनाव बढेको छ । मलाइ तरकारी देखि दुधसम्म घरबेटीले ल्याईदिनु हुन्छ तर उहाहरुको टेस्ट नहुदा उहाहरुनै घरबाट निस्किने अवस्था नाजुक बन्दैछ । छरछिमेकमा त्रास छ’ उनले भने ।