देश । जोगिन्दरको उपनामले परिचित हास्यकलाकार शिवशङ्कर रिजाललाई सांस्कृतिक संस्थानले सम्मान गरेको छ । मङ्गलवार सांस्कृतिक संस्थानद्वारा आयोजित ‘मन–मनमा संस्कृति, ओठ-ओठमा हाँसो’ उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जोगिन्दरलाई सम्मान गरेका हुन् ।
हास्यकलाकार जोगिन्दरले संस्कृतिमा गरेको योगदान वापत प्राप्त गरिएको सम्मानले ऊर्जा थपिएको बताए । उनले भने,‘हामीले आफ्नो प्रस्तुतिमार्फत संस्कृति र कला प्रबर्द्धनमा गरेको योगदानलाई यसरी बुझेर सम्मान गर्दा दायित्व बढेको महसुस भएको छ । यसले हामीलाई थप उत्तरदायी बनाउनुका साथै कलाकारिता यात्रामा ऊर्जा थप्ने काम गर्छ ।’
त्यसअवसरमा जोगिन्दरसँगै गायक नारायण रायमाझी, राजु परियार, रामजी खाँड, गायिका शर्मिला गुरुङ, हास्य कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे, सुरेन्द्र केसी, पल्पसा डङ्गोल, लक्ष्मण गाम्नागे, राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, दिनेश काफ्ले, खबपू चञ्चल मगर, हिमेश पन्त, सन्तोष खनाल, सुयषा खनालसँगै संस्थानका कलाकारलाई नगदसहित सम्मान गरिएको थियो ।
आयोजित ‘सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम, २०८१’का अवसरमा मन्त्री पाण्डेले मुलुकभित्र रहेका हरेक संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने,‘नेपाली कला र संस्कृति प्रबर्द्धनमा कलाकारको भूमिका महत्वपूर्ण हुन्छ । त्यसकारण आफ्ना प्रस्तुतिमा नेपालका विभिन्न संस्कृतिलाई जोडेर कलाको माध्यमले प्रबर्द्धन गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’
विविधतापूर्ण नेपाली सांस्कृतिक परम्पराको पबर्द्धन, तालिम प्रशिक्षण र सांस्कृतिक गतिविधिका लागि सांस्कृतिक संस्थान (नाचघर)को ६५ वर्ष अगाडि स्थापना भएको हो ।