‘आइसक्रिम’लाई दुई अवार्ड

फिल्म । सञ्चारकर्मी हुँदै निर्देशक बनेकी संगीता श्रेष्ठ निर्देशित लघु फिल्म ‘आइसक्रिम’ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा मा दुई अवार्ड जितेको छ । नोभेम्बर ३ देखि सुरु भएको फेस्टिभलमा पहिलो दिन नै स्क्रिनिङ भएको फिल्मले शनिबार राति घोषणा भएको अवार्ड समारोहमा उत्कृष्ट अभिनेत्री र सम्पादन गरी दुई विधामा अवार्ड जितेको जानकारी निर्देशक श्रेष्ठले गराइन् ।

उनले यो खुसिलाई सामाजिक सञ्जाल मार्फत व्यक्त गरेकी छिन् । उनले बाल यौन हिंसाको विषय र सम्पादनमा गरेको प्रयोगले नै फिल्मलाई अवार्डको हकदार बनाएको बताइन् । फिल्ममा सडकमा पैसा माग्दै हिड्ने एक बालिकाको कथा समेटिएको छ । नौ मिनेट लामो फिल्ममा योगिशा खत्रीले मुख्य भूमिका निभाएकी छन् । फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । संगीताका अनुसार फिल्म २ लाख हाराहारीको बजेटमा तयार भएको हो ।

अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा पनि ‘आइसक्रिम’ छनोट भइसकेको छ ।

कमेन्ट गर्नुहोस्