जोगिन्दर भन्छन् ‘हामीले मधेशको शान बढाएका छौँ’

टिभी । जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजालले हिमालय टेलिभिजन कार्यक्रम गर्न थालेको लामो समय भइसकेको छ । ‘जोगिन्दर बोले प्रणामजी’ को पहिलो एपिसोडमै तत्कालिन उर्जा मन्त्री प्रकाश शरण महतलाई गेस्ट बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनि प्रस्तोताको रुपमा स्थापित नै भए ।

त्यसयता उनले जोगिन्दरको क्यारेक्टरमा रहेर कार्यक्रम गर्दै आएका छन् । पान पसलेको रुपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडी ल्याएका छन् । जोगिन्दरको उपनामले चर्चामा आएका शिव शंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो । ‘मलाइ लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रुपमा प्रस्तुत थिए । त्यहिँबाट मैले यो क्यारेक्टरलाई बोकेको हुँ’ जोगिन्दरले भने ।

अमेरिकी दूतावासको एक प्रतियोगिताको लागि बनाइएको उक्त सर्ट फिल्म विजेता बनेसंगै जोगिन्दर क्यारेक्टरको चर्चा भयो । त्यसैले गर्दा उनले जोगिन्दरलाई अगाडी बढाउने सोच बनाए । ‘मैले क्यारेक्टरलाई कसरि जीवित राख्ने सोच्दै थिए र त्यहिँ समयमा हिमालयन टिभी सुरु भयो । मैले नारायण पुरी दाईसंग सल्लाह गरेर कार्यक्रम सुरु गरे र अहिलेसम्म निरन्तर संचालन गरिरहेको छु’ उनले भने ।

उनलाई केहि स्थानमा पान पसलेसम्म भन्ने गरेका छन् । यस्तो सुन्दा उनि क्यारेक्टरले पाएको मायाले खुसि हुन्छन् । तर , पछिल्लो समय मधेसी क्यारेक्टरलाई लिएर उठिरहेको प्रश्नले भने उनि खुसि छैनन् । कृषि टिभीबाट प्रसारण हुँदै आएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रम विवादमा परेपछि कार्यक्रममाथि आपत्ति जनाउँदै प्रदेश-२ सरकारले संघीय सरकारलाई पत्राचार गरेको थियो । कार्यक्रमको गत जेठको पहिलो साता प्रसारित एपिसोडमा सिङ्गै मधेशी समुदायको अपमान र बेइज्जत भएको ठहर गर्दै प्रदेश २ का महान्यायधिवक्ता कार्यालयले संघीय सरकारलाई पत्र पठाएको थियो ।

सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले संघिय सरकारको सञ्चार तथा सुचना प्रविधी मन्त्रालयलाई एक पत्र लेख्दै सो टेलिभिजनको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा प्रस्तुत गरिएको भाषा र सांकेतिक भेषभुषाले मधेशी वर्गलाई ठेस पुरयाएको र जनतामा व्यापक विरोध तथा आक्रोस रहेकाले संविधानको धारा १७ को उपधारा २ तथा धारा १८ को उपधाराहरु २ र ३ बमोजिम कारवाही गर्न मांग गरेको थियो । २०७४ को राज्य विरुद्वका कसुर अन्तर्गत दफा ४९ को ४ र दफा ६५ को १ को व्यवस्था बमोजिम यस्ता गतिविधीहरु बन्द हुनुपर्ने समेत पत्रमा उल्लेख गरिएको थियो ।

कोरोना बिर्साउने गफगाफले गर्दा उत्पन्न स्थितिमा ह्वाट द फ्लप, जोगीन्दर बोले प्रणाम जीलाई समेत बन्द गर्न प्रदेश सरकारले आग्रह गरिसकेको छ । तर , जोगिन्दर भने एउटाको गल्तिको सजाय अरुलाई दिन नहुने बताउछन् । ‘हाम्रो कार्यक्रमले मधेश र मधेसीको संक्स्कृतिलाई अगाडी ल्याउने कार्य गरेको छ । हामीले क्यारेक्टर मार्फत समुदायलाई असर पर्ने काम गरेका छैनौ । त्यसैले गल्ति नभएकालाई सजाय दिनु हुदैन’ जोगिन्दरले भने ।

जोगिन्दर बोले प्रणाम जीका संचालक शिव शंकर रिजाल र ह्वाट द फ्लपका संचालक सन्दीप क्षेत्री पनि प्रदेश नम्बर २ कै हुन् । ‘दोषीलाई कारवाही गर्नु पर्दछ तर निर्दोषलाइ सजाय दिनु हुदैन’ जोगिन्दरले भने । लकडाउनका कारण रोकिएको शोलाई उनले छिटै ल्याउने तयारीमा छन् । पछिल्लो समय गाईजात्रामा व्यस्त जोगिन्दर अर्थात शिव शंकरले भने ,’हामी पनि मधेशका हौँ , मधेशी हौँ र हामीले हाम्रो संस्कृति र समुदायलाई राम्रोसंग बुझेका छौं ।’

कमेन्ट गर्नुहोस्