यसरी बन्यो ‘प्रेमा’

फिल्म। नेपाली फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका निर्देशक गोविन्द सिंह भण्डारीले ‘रणवीर’ मार्फत निर्देशनमा डेब्यु गरे। पहिलो फिल्म व्यवसायिक रूपमा सफल नभएता पनि उनको सम्भावना निर्देशनमा देखियो। फिल्म मेकिङ्गमार्फत आफ्नो प्रभाव छाड्न सफल भएका निर्देशक भण्डारीले दोस्रो फिल्म ‘प्रेमा’ निर्देशनसँगै निर्माणसमेत गरेका छन्। अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टी श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म नेपाली भाषामा हलमा र ओटीटीमा तेलुगु, तमिल र हिन्दी भाषामा रिलिज गर्ने तयारी छ।

एक्सन फिल्ममार्फत चर्चा कमाएका निर्देशक भण्डारी ‘प्रेमा’ मार्फत नै डेब्यु गर्न चाहन्थे। ‘मैले रणवीरसँगै लेखेको स्क्रिप्ट हो। प्रेमकथाले जोड्ने काम गर्छ । यसले सामीप्यताको भाव देखाउने छ’, निर्देशक भण्डारीले भने। उनको अनुसार फिल्मको कथा वास्तविक व्यक्तिबाट प्रभावित भएर लेखिएको थियो । ‘मैले भेटेको एक यूवतीबाट प्रभावित भएर नै फिल्म बनाएको हुँ। मान्छेहरु बढी चमकधमक भएको वस्तुतिर आकर्षित हुन्छन् । तर प्रेमाको चरित्र आफैंमा शान्त सुशील हुँदा आकर्षक व्यक्तित्व छ’, उनले भने।

फिल्मको नाम र अर्थबारे प्रस्ट्याउदै उनले ‘प्रेमा’ संस्कृतबाट आएको शब्द भए पनि यसलाई तेलुगूमा बढी प्रयोग गरिएको बताए। ‘प्रेमालाई बुझ्ने भाषामा माया भन्न सकिन्छ। त्यहि चरित्रलाई कल्पना गर्दा दिमागमा सुवेक्षाको चित्र आएको हो। उनी मैले भेटे झैँ प्रेमा बनेकी छिन्’, निर्देशक भण्डारीले भने। उनले अभिनेता भने नयाँ अनुहार नै राख्ने सोच बनाए।

धेरैजनासँग अडिसन लिएता पनि सोचेको जस्तो पात्र फेला पार्न नसकेपछि सम्पादक कृष्ण भण्डारीले अरुण बारे सुझाव दिएका थिए। सम्पादक भण्डारीले फिल्म ‘आइ एम २१’मा काम गरिरहेका थिए । त्यहिँकारण अरुण सिफारिस भए। ‘अडिसन लिनुभन्दा पनि सुटिङमै पुगेर काम हेर्छु भन्ने निर्णय लिएँ। काम, शारीरिक हाउभाउ राम्रो लाग्यो । अनि उसलाई अडिसनमा बोलाएँ’, निर्देशक भण्डारीले भने ।

विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)समेतको अभिनय रहेको फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्