एकै परिवारका १८ जना कोरोना मुक्त

21 Shares

देश । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमित बढिरहेका छन् । भारतमा कामदार रहेका नेपाली फर्किने क्रम बढेसँगै नेपालमा संक्रमितको संख्या बढ्दो छ । नेपालमा ६ सय ५ जना संक्रमित भइसकेका छन् भने ३ जनाको कोरोना भाइरसको कारण मृत्यु भईसकेको छ । यसैबीच एउटा खुसीको खबर पनि आएको छ । प्रदेश नम्बर २ अन्तर्गतको नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भएपछी डिस्चार्ज भएका छन् ।

उनीहरु आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट घर फर्किएका हुन् । दोस्रो पटक पनि स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ । डिस्चार्ज हुने १८ जनाको परिवारमा ४ महिने शिशुदेखि लिएर ६२ वर्षकी वृद्ध महिलासम्म छन् , जसमा ७ महिला सहित ११ पुरुष रहेका छन् । उनीहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वासिन्दा हुन् । आइतबार राति करिब ११ बजे उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।

गत वैशाख २१ मा उक्त परिवारका ३७ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएको थियो । गत वैशाख २४ मा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै पर्सामा मात्रै निको हुनेको संख्या २५ पुगेको छ भने देशभर निको हुनेको संख्या १०५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्