विदेश । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आएको भन्दै लकडाउन खुकुलो पारेको दक्षिण कोरियामा आइतबार एकै दिन ३४ जना संक्रमित फेला परेका छन् । यो अप्रिल ९ यताकै उच्च संख्या हो । नयाँ संक्रमित मध्ये २६ जनालाई स्थानीयस्तरमै संक्रमण भएको र ८ जना विदेशबाट आएकाहरू रहेको कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) ले जनाएको छ ।
यसअघि, दक्षिण कोरियाले कोभिड–१९ को संक्रमण नियन्त्रणमा आएको भन्दै जारी लकडाउन खुकुलो पारेको थियो । त्यसैगरी, विद्यालय, चर्च, रेस्टुराँ तथा नाइट क्लबहरू खुला गरेको थियो । यसैले गर्दा संक्रमण फैलिएको अनुमान गरिएको छ । स्थानीय मिडियाको अनुसार आइतबारसम्म नाइट क्लबसँग सम्बन्धित ५४ जनामा संक्रमण देखिइसकेको छ । यसमध्ये ४३ जना क्लबमै पुगेका जनाइएको छ । अन्य ११ जना उनीहरूको सम्पर्कमा आएका कारण संक्रमित भएका थिए ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने भन्दै चेतावनी दिएका छन् । पछिल्ला केही दिनमा नाइट क्लबहरूबाट फैलिएको संक्रमणले कोभिड–१९ को भाइरस जुनसुकै बेला जहाँ पनि फैलन सक्छ भन्ने प्रस्ट भएको उनको भनाइ छ । (एजेन्सी)









