विदेश । विश्वभरका पर्यटकको मुख्य आकर्षण बन्ने लन्डनस्थित टावर ब्रीजमा यतिखेर क्रिसमस मार्केट सुरु भएको छ । चारैतिर झिलिमिली बत्ती, चिसो सिरेटो र हजारौँ पर्यटकको भीडबीच नेपाली परिकारको विशेष बास्नाले जो-कोहीलाई टक्क अड्याउने गरेको छ । नेपाली मःम, हिमालयन थुक्पा र गोर्खा सुपको बास्ना विश्वभरका पर्यटकसम्म पुर्याउने काम ‘टेस्ट अफ नेपाल’ मार्फत व्यवसायी सुलभ श्रेष्ठले गरिरहेका छन् ।
नेपाली परिकारको स्वाद पस्कन व्यस्त श्रेष्ठ पेसाले रेष्टुरेन्ट व्यवसायी पनि हुन् । उनले विगत चार वर्षदेखि टावर ब्रीज क्रिसमस बजारमार्फत नेपाली स्वाद विश्वभरका पर्यटकमाझ पुर्याउँदै आएका छन् ।
करिब तीन स्क्वायर मिटर क्षेत्रमा सञ्चालित यो स्टल टावर ब्रीज क्षेत्रमा रहेको एकमात्र नेपाली स्टल हो । विदेशी पर्यटक तथा स्थानीयहरू यहाँ नेपाली मःम र गोर्खा सुपका लागि लामो लाइन लागेर प्रतीक्षा गर्दछन् । टावर ब्रीजजस्तो विश्वप्रसिद्ध स्थानमा नेपाली परिकारको उपस्थिति स्थापित गर्नुलाई श्रेष्ठ आफ्नो प्रमुख उपलब्धिमध्ये एक मान्छन् ।
उनी भन्छन्, ‘चुनौती त ठूलो छ, तर नेपाली परिकारलाई विश्वमाझ चिनाउने उद्देश्यले हामी नेपाली परिकारको स्टल राखेका छौँ । मःम, गोर्खा सुप, चाउमिन, हिमालयन थुक्पा लगायतका परिकारका बारेमा जानकारी दिदै विश्वभरका पर्यटकला चखाउन पाउँदा खुसी लाग्छ ।’ नेपाली स्वादको मौलिकता कायम राख्न उनी मःम आफ्नै कारखानामा उत्पादन गर्छन् भने अन्य सामग्री नेपालबाटै लन्डन ल्याउनछन।








