हिमाल आरोहण स्थगित

देश । कोरोना भाइरसले विश्वलाई नै त्रासमय बनाइरहेको छ । चीनको वुहानबाट सुरु भएको यो भाइरसले विश्वलाई संकटमा परिरहेको छ । औषधि पत्ता नलागेकै कारण यसलाई रोकथाम गर्ने भन्दा पनि सतर्कतामा ध्यान दिनुपरिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना भाइरसकै कारण नेपालले भिजिट नेपाल २०२० समेत रद्द गरिसकेको छ । यसैले गर्दा पछिल्लो समय धेरैमै त्रास नेपालमा पनि बढेको छ ।

नेपाल सरकारले कोरोना भाइरसलाई लिएर सतर्कता अपनाउदै वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित गरेको छ । कोरना भाइरस भित्रिन नदिन सतर्कता अपनाएको सरकारले यस सिजन अन्तर्गत हुने सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको उच्चस्तरीय समन्वय समिति बैठकले वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित गर्ने कदम चालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ । पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । सरकारले विभिन्न हिमालहरूको आरोहणका लागि यो सिजनमा पनि अनुमति दिएको थियो । तर समन्वय समिति बैठकले यसअघि दिइएका अनुमति रद्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको छ ।

कोरोनाविरुद्ध लड्न विभिन्न १९ निर्णय गरेको समन्वय समितिको १७ औं बुँदामा भनिएको छ– नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने ।’ नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा–सम्मेलन तथा समारोह गर्न पनि सरकारले रोक लगाएको छ । उसले आउँदो मे ३१ सम्मका लागि यस्ता कार्यक्रमहरूमा रोक लगाएको हो ।

कमेन्ट गर्नुहोस्