देश । नेपाल सरकारले जनवरीको पहिलो दिन नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको छ । बुधबार राजधानीको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संस्कृति झल्कने नाचगान र सांगीतिक कार्यक्रमसहित नेपाल भ्रमण वर्षको उद्घाटन गरिएको हो । नेपाली कलाकार र सांगीतिक समूहले विभिन्न सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति प्रदर्शन गरेका थिए । सरकार यस वर्ष २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यमा छ ।
भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले नेपालको संस्कृति, सम्पदा, भेषभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाइएको बताए । कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आग्रह गरेका थिए । ‘नेपालमा सबैले तराई, पहाड र हिमालको सौन्दर्य एकसाथ नियाल्न सक्छन् । प्राकृतिक सुन्दरता, हिमालय र सांस्कृतिक तथा धार्मिक महŒव रहेको गौतम बुद्धको जन्मस्थललगायत भ्रमण गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भने, ‘हामी नेपालीहरुले नेपाल भ्रमण वर्ष– २०२० को अवसरमा हामीसँग भएका सभ्य संस्कृतिको पहिचान दिनुपर्छ।’
विश्वको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको जन्मभूमि हेर्न नेपाल आउनु पर्ने बताउँदै उनले दुर्लभ वन्यजन्तु र ट्रेकिङका लागि नेपाल उपयुक्त गन्तव्य रहेको बताए । कार्यक्रममा नेपाली सांगीतिक ब्यान्ड ‘कुटुम्ब’ विभिन्न कलाकारहरूसँग सहकार्य गरेर सांगीतिक प्रस्तुति दिएका थिए । नेपाली मौलिक धुनलाई प्राथमिकता दिँदै आएको कुटुम्बले कार्यक्रममा धिमे, बाँसुरी, सारंगी, तुंगना र अर्बाजो र पञ्चेबाजा लगायतको वाद्यवादनको प्रयोग गरेर सांगीतिक प्रस्तुति दिएको थियो।
नेपाल भ्रमण वर्ष–२०२० लाई केन्द्रित गरेर कुटुम्बले कार्यक्रममा सात प्रदेशका मौलिक संगीत प्रस्तुत गरेको थियो । कार्यक्रममा विभिन्न समुदायको प्रतिनिधित्व हुने भेषभूषा र नाचगानसहित सहभागी संस्थाका सदस्यहरूले मार्चका थिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताए। ‘पर्यटनलाई नेपालको आर्थिक विकासको प्रस्थान विन्दु मान्दै सन् २०३० सम्म पर्यटन दशकका रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा बनाएका छौं,’ उनले भने।
तस्वीरहरु : आर्यन विमली









