देश । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै यसलाई लिएर नेपालमा बढेको जोखिमको लागि सतर्कता बढाउनुका साथै तयारी पनि थालिएको छ । चीनको वुहानबाट सुरु भएको भाइरसबाट लड्न स्थानीय सरकारले अस्पताल निर्माण गरेको थियो । १२ दिनको समय लिएर थालिएको अस्पताल निर्माणको चर्चा सर्वत्र भएको थियो ।
नेपालमा पनि उच्च जोखिम रहेको परिस्थितिलाई मुल्यांकन गर्दै चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ‘कोरोना विशेष अस्थाई अस्पताल’ तयार भएको छ । शुक्रबारबाट अस्पतालमा स्वास्थ्यलाभ पनि लिन सकिने छ । भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी केन्द्रको तीन वटा भवनमा अस्पताल तयार गरिएको हो ।
अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन् । मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए । अस्पतालको सञ्चालनको जिम्मा भने भरतपुर महानगरपालिकाले लिनेछ । अब कोरोनाको आशंका लागेका यहीँ अस्पतालमा उपचार गरिने छ ।








