विदेश । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ गतेदेखि ‘लकडाउन’ छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सामाजिक दुरी कायम गर्न नेपाल सरकारले लकडाउन गरिरहेको छ । यसैक्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका छन् । बुधबारदेखि लागू हुने गरी आपतकाल घोषणा गरिएको स्थानीय सञ्चार माध्यममा खबर छ ।
अहिले घोषणा गरिएको संकटकाल मे ६ सम्म जारी रहनेछ । मंगलबार आपतकालको घोषणा गर्दै आबेले आधारभूत आर्थिक गतिविधि भने यो क्रममा पनि जारी रहने बताएका छन् । आपतकालमा पनि सार्वजनिक यातायात र सुपरमार्केटहरु खुला रहनेछन् । यो क्रममा मानिसहरुलाई घरमा नै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ । जापानमा अहिलेसम्म चार हजार छ सयभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् भने ९१ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ । (एजेन्सी)










