‘कांग्रेसको गौरव बढ्ने काम गरेर देखाउँछु’

देश । प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले नेपाली कांग्रेसका कार्यकर्तालाई गौरव महसुस हुने काम गरेर कांग्रेसीको गौरव बढाउने बताएका छन् । आज उनकै क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ स्थित नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले क्षेत्रमा विकास गरेर भोट माग्ने बताए । ‘मैले यो क्षेत्रमा गर्ने विकासले नै मैले पाउने भोट तय हुन्छ’ उनले कार्यक्रममा सम्वोधन गर्दै भने ,’म विकास गरेर देखाउछु , नेपाली कांग्रेसका कार्यकर्ताहरुले जनता कहाँ पुग्दा गौरव महसुस गर्नु हुनेछ ।’

उनले आफुले क्षेत्रमा २० करोड बढीको विकास गरेर देखाउने समेत ठोकुवा गरे । ‘मैले सांसदकै रुपमा गरेको विकासको मुल्यांकन भएको होला नै र मन्त्री भएपछि झनै बढेको अपेक्षालाई अवश्य पुरा गर्नेछु’ मन्त्री सिंहले भने । उनले आफ्नो क्षेत्रमा एक फुटवल र क्रिकेटको सानो बजेटको स्टेडियम बनाउने बताए । यसले खेलको गतिविधि बढ्नेमा उनि ढुक्क छन् । उनि भन्छन्, ‘हाम्रो क्षेत्रका खेलाडीहरुको खेलमा सुधार ल्याउन सक्दो वातावरण मिलाउने छु ।’ उनले अब जनताले विकासको रिजल्ट चाहेकाले भाषण भन्दा पनि काम नै गरेर देखाउनेमा जोड दिए । ‘अब हामीले यसो गर्छौ भनेर भन्दैनौ ,यो गर्यौ र यो गर्दैछौँ मात्र भन्छौ र जनता सहित नेपाली कांग्रेसका कार्यकर्ता पनि यहिँ सुन्न चाहेको हुनुपर्छ’ मन्त्री सिंहले भने ।

क्षेत्रीय सभापति राम आश्रेय शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जंगीलाल राय प्रमुख अतिथि थिए । उनले नेपाली कांग्रेसलाई अब जनताले जिताएर पठाउने विश्वास व्यक्त गरे । ‘जनताको मतको कदर गर्न नसक्नेलाई अब जनताले कदर गर्ने छैनन्’ राय भन्छन् ,’अहिले हामीले सम्हाल्दिनु परेको छ , अब जनताले पनि हामीलाई सुम्पिने छन् ।’ यस्तै कार्यक्रममा क्षेत्रमा रहेको ५१ वटा वडा सभापतिहरुको तर्फबाट बोल्दै बरहथवा वडा नम्बर १४ का सभापति श्याम कार्कीले कांग्रेस पार्टी सधै जनतासँग साथै रहेको बताए । ‘हामी सरकारबाट बाहिर रहदा पनि जनतासँग थियौ र सरकारमा आउँदा पनि जनतासँगै छौँ’ कार्कीले भने । यद्दपी उनले पार्टीको कार्यकर्ताको मनोबल गिराउने काम पार्टीकै केहि व्यक्तिबाट भएको भन्दै खबरदारी समेत गरे ।

उनले संघीय सांसद अमरेश सिंहलाई इङ्गित गर्दै कार्यकर्ताको एकता टुक्र्याउन र पार्टीलाई कम्जोर बनाउन लागेको आरोप समेत लगाए । ‘कांग्रेसलाई कम्जोर बनाउन खर्च गरेको समय कार्यकर्ताको भलाइमा लगाउनुस अनि मात्र तपाइको साथमा कार्यकर्ता हुनेछन्’ कार्कीले भने । उनकै कुरालाई समर्थन गर्दै नेपाली कांग्रेस सर्लाही जिल्ला उपसभापति सुरेन्द्र सिंहले पनि सांसद अमरेशको क्रियाकलाप पार्टी पद्दति विपरित देखिएको आरोप लगाए ।

‘कहिँ कतै कार्यक्रम हुन्छ तर त्यहाँ कांग्रेस हुदैनन् , किन उहाँ कार्यकर्ता समक्ष आउन डराई रहनु भएको छ ?’ उपसभापति सिंहले प्रश्न गर्दै भने ,’कांग्रेसको भोटले सांसद बनेर कांग्रेसकै विरुद्ध लाग्नु हुन्छ भने ठिक हुदैन ।’ कार्यक्रममा पुर्व सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ , सर्लाही जिल्ला सभापति नागेन्द्र राय , सर्लाही क्षेत्र नम्बर ४ ख प्रदेश सभा सांसद उपेन्द्र कुमार कुशवाहा , सर्लाही क्षेत्र नम्बर ३ का पुर्व सांसद हरेश प्रसाद महतो , बरहथवा नगरपालिका मेयर प्रत्यासी रञ्जन दास , नेविसंघका निवर्तमान केन्द्रीय सदस्य रघु कार्की , कांग्रेस नेता रामहरी न्यौपाने लगायतका सर्लाही क्षेत्र नम्बर ४ का कांग्रेसबाट निर्वाचित स्थानीय निकायका पदाधिकारीहरु सहित २ हजार कार्यकर्ता तथा शुभचिन्तकको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्