फिल्म । बलिउड अभिनेता इरफान खानले वुधवार ५४ वर्षको उमेरमा संसार छाडे । केहि समय यता विभिन्न स्वास्थ्य समस्यासँग लड्दै आएका इरफानले अन्तिम अडियो क्लिपमा भनेका थिए ,’म तपाइँसँग छु र छैन पनि ।’ आज उनि हामीसँग छैनन् तर , उनको काम हामीसँग छ । इरफानले केहि यस्ता फिल्ममा अभिनय गरेका छन् , जसले उनलाई हामी माँझ सदैव जीवित राख्ने छ । उनले बलिउडसँगै हलिउडका पनि फिल्ममा काम गरेका छन् , जसले उनलाई विश्वमै चिनाएको छ ।
मकबुल (२००३)
विशाल भारद्वाजद्वारा निर्देशित फिल्म ‘मकबुल’ सन् २००३ मा रिलिज भएको थियो । यस फिल्म मार्फत इरफान चिनिएनन् मात्र , आफ्नो अभिनय क्षमता पनि देखाए । नसिरुद्दिन शाह, ओम पुरी, पंकज कपुर जस्ता कलाकारको बीचमा उनले देखाएको अभिनयको चर्चा भयो । इरफानको राम्रो फिल्ममा यो सधै सम्झिन्छ ।
पान सिंह तोमर (२०१२)
यो फिल्म अगाडी इरफान दिक्दार भइसकेका थिए । आफुले चाहे जस्तो फिल्म नगर्न पाउँदा उनि दुखि थिए । जीविकोपार्जन गर्नकै निमित बलिउडका रेगुलर फिल्म गरिरहेका इरफानले फिल्म नै छाड्ने मनसाय पनि बनाएका थिए । निर्देशक तिग्मांशु धुलियाले उनलाई कथा सुनाउदै फिल्म गर्न प्रेरित गरेका थिए । फिल्ममा इरफान यस्ता धावक थिए । तर, जिन्दगीको अनुभव निकै तितो छ जसले उनलाई डाँकु बनाउँछ। एउटा धावकको भूमिका इरफानले उत्कृष्ट तरिकाले निर्वाह गरेका छन्। यो फिल्मले उनलाई पहिलोपटक नेशनल अवार्ड विजेता बनाएको थियो ।
लाइफ अफ पाई (२०१२)
ओस्कार अवार्डमा निर्देशक तर्फको अवार्ड आङ्ग लीले ‘लाइफ अफ पाई’ मार्फत अवार्ड जितेका थिए । सुरज शर्मा, इरफान खान, तब्बू आदि भारतीय कलाकारलाई प्रमुख भूमिकामा अभिनय गराई बनाइएको ‘लाइफ अफ पाई’ हलिउड फिल्म हो । यो फिल्ममा इरफानले निर्वाह गरेको भूमिकाको निकै तारिफ भएको थियो ।
पिकु (२०१५)
शुजित सरकार निर्देशित फिल्ममा दुई दिग्गज अभिनेता अमिताभ बच्चन र इरफान खानसँगै देखिएका थिए । साथमा थिइन् , दीपिका पादुकोण । इरफान र अमिताभको अभिनयको जादुले फिल्म हेर्दा दर्शकले समय कटेको पत्तै पाउँदैनन्। अमिताभ र इरफानले सहज रूपमा आफ्नो भूमिका निर्वाह गरेका छन्। सुटिङको अन्तिम दिन इरफान यति भावुक भएका थिए कि उनले अमिताभलाई अँगालो हालेर गालामा चुम्बन नै गरिदिए ।
मदारी (२०१६),
इरफान अभिनित राम्रो फिल्ममा पर्छ , मदारी । उनले यसमा एक पिताको भूमिका निर्वाह गरेका छन् । जसले बदला चाहेको हुन्छ , तर उनि पिता हुन्छन् । एउटा पिताले बदला लिने कि बच्चालाई बचाउने बीचको संघर्षनै फिल्ममा छ । गृहमन्त्रीका आठ वर्षीय एक मात्र छोरा रोहन गोस्वामी (विशेष वंशल) को अपहरणबाट फिल्मको कथा सुरू हुन्छ । फिल्ममा इरफान गृहमन्त्रीका उही छोरा अपहरण गर्ने पात्र निर्मल कुमार बनेका छन्।
हिन्दी मिडियम (२०१७)
इरफानको पछिल्लो कमर्सियल हिटमा पर्छ , हिन्दी मिडियम । समीक्षक र दर्शकले उत्तिकै रुचाएको फिल्म मार्फत उनले नेशनल अवार्ड जितेका थिए । यो उनको दोस्रो नेशनल अवार्ड थियो । कमेडी गर्न उट्पट्याङ अनुहार बनाउनु, नमिल्दो मेकअप गर्नु, जोकरजस्तो भएर कपडा लगाउनु, द्विअर्थी संवाद बोल्नु जरुरी छैन भन्ने कुरा इरफानले अभिनयमार्फत यो फिल्ममा देखाएका छन् । उनको कमिक टाइमिङ बेजोड छ।












