फिल्म । केहि समय यता लगातार प्रियंका कार्की चर्चामा छिन् । ब्याचलर पार्टीमा निस्किएसँगै प्रियंकाको चर्चा बढेको हो । यिनै प्रियंका केहि दिन यता विवाहको कारण चर्चामा छिन् । प्रेमी आयुष्मान डिएस जोशीसँग केहि समय अगाडी नै टिकाटालो गरेकी प्रियंकाले विवाहको मिति सार्वजनिक गरेसँगै चर्चामा छिन् । बिहेमा हुने विभिन्न समारोहमा सहभागी भएर उनीहरुले बिहेलाई भव्य बनाइरहेका छन् । मेहेन्दी, संगीत समारोह आयोजना भैसकेका छन् ।
यसैविच, उनीहरुले बिहिबार कानुनी रुपमा विवाह गरेका छन् । जिल्ला अदालत ललितपुर पुगेर दुइले कानुनी रुपमा बिहे गरेका हुन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन् ।
कानुनी रुपमा आज बिहे गरेर एक भएका प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिहे गर्दैछन् । शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, फिल्मकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् । ‘हामीले कानुनी रुपमा समेत विवाह गरेका हौँ । हिन्दु परम्परा अनुसार शुक्रबार विवाह हुँदैछ । हामीले अबसँगै जीवन अगाडी बढाउने निर्णय गरेका हौँ’ प्रियंकाले भनिन् ।











