चित्रमा जयाको ‘जीवन’

देश । कलाकार जया शर्माको एकल चित्रकला प्रदर्शनी शुक्रबारबाट शुरु भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा शुक्रबार उद्घाटन गरिएको प्रदर्शनी तीन दिनसम्म जारी रहनेछ । जयाले आफ्नो जिवन, यसमा आएका उत्तारचढाव र चित्रकलाको आफ्नो सुनौलो यात्रालाई विभिन्न चित्रमार्फत उतारेकी छिन् । ‘ड्रिम वाक २०३३’ नाम दिइएको यो प्रदर्शनीमा उनले आफ्नो जिवनकालमा पार गरेका विभिन्न महत्वपुर्ण चरणहरुलाई सुन्दर चित्रमार्फत अवलोकन गर्न सकिन्छ । यो चित्रकला प्रदर्शनी जयाको आफ्नो जीवनको उपलब्धीहरुको महत्वपुर्ण संग्रह पनि हो ।

उद्घाटन कार्यक्रममा जयाका माता पिता सावित्री शर्मा र विजयचन्द्र शर्माले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । ‘मेरा जिवनमा महत्वपुर्ण भुमिका खेल्ने व्यक्तिहरु यहाँ आउनुभएको छ । तपाइँहरुको उपस्थितीले म प्रतिको माया दर्शाएको छ । म चाहन्छु सबैले मेरो सिर्जनाको उज्यालो महशुस गरुन्’जयाले भनिन् । बिम्बात्मक शैलीको चित्रबाट प्रदर्शनी शुरु गरिएको छ भने अन्त्य पनि बिम्बात्मक शैलीमै गरिएको छ । जिन्दगीका विभिन्न भोगाइहरु यसमा समेटिएका छन् । जया शर्मा कलाकारिताको दुनियाँमा नयाँ नाम होईन । बाल्यावस्थादेखी नै कला विद्यामा आकर्षित जयाले चित्रकलामा आफ्नो परिचय स्थापित गरेकी छिन् । कुनै बेला मोडलिङ र पत्रकारितामा समेत सक्रिय जयाले आफ्नो सबैभन्दा रुचिको चिज चित्रकलालाई अगाडी बढाउन पनि उनले थुप्रै कठिन परिस्थतीको सामना गर्नुपरेको थियो । चित्रकलाकै माध्यमबाट उनले विभिन्न सम्मानहरु पनि पाइसकेकी छिन् । विभिन्न चलचित्रका पोस्टर डिजाइन र म्यागजिनका कभरहरु पनि उनले बनाइसकेकी छिन् । यो मात्र नभएर उनी आफ्नो श्रीमान् सञ्चारकर्मी एवम् निर्देशक सुव्रतराज आचार्यको काममा पनि सघाइरहेकी छिन् ।

जन्मसंगै बाल्यावस्था, युवाअवस्था, पुर्नजन्म, विवाह, सोचमग्न परिस्थती, जिवनका आरोह–अवरोह, नयाँ सोच र सफलता लगायत कुराहरुलाई चित्रमार्फत समेटेर राखिएको प्रदर्शनी निकै कलात्मक देखिन्छ । जयाको सपना सानैदेखी नामको अगाडी कलाकार लेख्नु थियो । आज उनी कलाकार जयाको नामले परिचित छिन् । यसअघि पनि जयाको एकल प्रदर्शनी सम्पन्न भईसकेको छ । जया नेपालमा डिजिटल पेन्टिङको सुरुवात ताकाकै उम्दा कलाकार हुन् । आजभन्दा ११ वर्ष अघि आजकै दिन उनको डिजिटल पेन्टिङको प्रदर्शनी गरिएको थियो ।

कमेन्ट गर्नुहोस्