कमेन्ट गर्नुहोस्
सेलिब्रेटीले साटे शैलुङको अनुभव

देश । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा कलाकारहरू सहभागी थिए । सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको छ ।
सय वटा थुम्काहरू मिलेर बनेको शैलुङमा फराकिला हिमशृङ्खला, आकर्षक सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौँरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिएका छन् । कलाकारहरूमध्ये धेरै जसोले आफू शैलुङमा पहिलो पटक आएको अनुभव सेयर गरे । उनीहरूले पहिलो पटक शैलुङ आउँदा निकै गर्व लागेको समेत सुनाए । स्पार्क कारको यस कार्यक्रमलाई उनीहरूले निरन्तरताको शुभकामना समेत दिए । कलाकारहरूले पहिलो पटक क्याम्पिङ टेन्टको मज्जा लिएको समेत सुनाए ।
क्याप्टेन तथा कलाकार विजय लामाले शैलुङमा रमाउन पाएको अनुभव सुनाए । उनले यस्ता गतिविधीले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे । अभिनेता निखिल उप्रेतले तीर्थ जाँदा मानिसको शारीरिक र मानसिक रूपमा स्वस्थ हुने भएर पनि त्यस ठाउँ तीर्थस्थल बनाइएको बताए । उनले भने,‘शैलुङ बुद्धले टेकेको ठाउँका रूपमा पनि महत्त्वपूर्ण छ । मैले यस ठाउँमा आउँदा निकै आनन्दित महसुस गरें ।’
लोक गायक प्रेम राजा महतले नेपालको पर्यटकीय हिसाबले निकै सुन्दर स्थानका रूपमा शैलुङ आफ्नो मानसपटलमामा स्थापित भएको बताए । उनले यात्राको क्रममा संगालेको अनुभव र देखेको विशेषता समेटेर गीत लेख्ने सोच बनाएको जानकारी गराए ।
लेखक बुद्धि सागरले शैलुङ पहिलो पटक आएको बताए । ‘काठमाडौँबाट नजिकैको दूरीमा रहेको यो ठाउँ निकै नै विशेष रहेछ । भुईंकुहिरो आयो, काठमाडौँमा ५५,५६ सालतिर भुइँकुहिरो देखिन्थ्यो, अहिले छैन । यहाँ भुइँकुहिरो देखेपछि म नोष्टाल्जिक बन्न पुगेँ । केही न केही लेखिरहने व्यक्ति भएकाले म यहाँ देखेका कथा तथा परिवेशहरूले कहीँ न कहीँ स्थान पाउँछन् । यहाँको मानिसहरू अझै पनि पाहुनालाई भगवान मान्ने हुनुहुँदो रहेछ । हाम्रो ठाउँको प्रचार गर्नका लागि स्थानीयहरूको सामूहिकता देखेँ’, उनले भने ।