विदेश । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली फिल्मलाई उत्कृष्ट फिल्मको रुपमा ओस्कार प्रदान गरिएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । यस वर्ष दक्षिण कोरियाली ‘प्यारासाइट’ले ओस्कारमा सर्वोत्कृष्ट फिल्म जित्ने पहिलो विदेशी भाषाका फिल्म बनेको थियो । ट्रम्प ‘प्यारासाइट’को यो उपलब्धीसँग प्रभावित देखिएनन् । बरू उनको रूचि ७० वर्ष अगाडि अमेरिकी फिल्ममा देखियो । ‘यो वर्षको एकेडेमी अवार्डस्लाई हेर्नुस् त कति खराब थिए ? विजेता को थियो ? भन्दा…कोरियाको एउटा फिल्म’, कोलोराडोमा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘त्यो केका लागि थियो? दक्षिण कोरियासँग हाम्रा व्यापारसम्बन्धी प्रशस्तै समस्याहरू छन् । त्यहीमाथि उनीहरूले तिनीहरूलाई उत्कृष्ट फिल्मको उपाधि दिए ।’
सम्बोधनमा ट्र्मले आफूलाई ‘प्यारासाइट’ राम्रो भए नभएको थाहा नभएको बताए । ‘मैले सोचे त्यो उत्कृष्ट विदेशी फिल्म होला, उत्कृष्ट विदेशी फिल्म… होइन, त्यो त उत्कृष्ट नै रहेछ। के यस्तो पहिला पनि भएको थियो?’, उनले सम्बोधनमा जिज्ञासा राखे। उनि ब्राड पिटको पनि फ्यान देखिएनन् । ‘म उसको कहिले पनि ठूलो प्रशंसक रहिन’, ट्रम्पले भने, ‘ऊ उठ्यो, थोरै मात्र सानो बुद्धिमान केटाको जस्तो कुरा गर्यो । सानो बुद्धिमान केटो, ऊ थोरै बुद्धिमान् केटा हो।’ ओस्कारमा उत्कृष्ट सहायक अभिनयको पुरुषतर्फको ओस्कार जितेका ब्राड पिटले आफ्नो धन्यवाद सम्बोधनमा सिनेटर जोन बोल्टनलाई दिइएको समयप्रति इंगित गर्दै ठट्टा गरेका थिए। फिल्मलाई अमेरिकामा वितरण गर्न अधिकार लिएको नियोनले ट्वीटरमा नै ट्रम्पको आलोचनाको जवाफ फर्काएको छ । ‘बुझ्न सकिन्छ, उनी पढ्न जान्दैनन्’, कम्पनीले लेखेको छ । (एजेन्सी)









