फिल्म । आउँदो फागुन ९ मा प्रदर्शनमा आउने फिल्म ‘आमा’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल गीत ‘मनको मौलो’ मा फिल्ममा मुख्य कलाकारहरु फिचर्ड छन् । गीतमा केतन छेत्रीको स्वर रहेको छ भने यसमा सुभाष भुषालले संगीत दिएको छन् । गीतलाई भुपेन्द्र खड्काले लेखेका हुन् । सार्वजनिक गरिएको गीत मार्फत फिल्मको कथासार भन्न खोजिएको छ ।
यसमा शिर्ष भूमिकामा छिन् मिथिला शर्मा । अर्थात् आमाको भूमिका उनकै हो । सार्वजनिक फस्ट लुक र ट्रेलर मार्फत फिल्मले एक किसिमको हाइप् बनाइ सकेको छ । फिल्ममा मिथिला आमा र सुरक्षा छोरीको भूमिकामा छिन् । यी दुइकै वरिपरी फिल्मको कथा घुमेको अनुमान सार्वजनिक फस्ट लुक र ट्रेलरले पनि गराएको थियो । फिल्ममा आमाको भूमिका निर्वाह गरेकी मिथिलाले यसलाई आफ्नो करियरकै टर्निङ पोइन्ट भनेकी छन् ।
‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म‘आमा’ लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण श्रेष्ठ ‘क्रेजी’ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।











