गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी

देश । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइतबार जिल्ला प्रशसान कार्यालयमा मुलुकी अपराध संहिता ऐन २०७४को दफा १ सय १८ अनुसार अभद्र कसूरका आधारमा पक्राउ पुर्जी जारी गरिएकाे हाे । गत बुधबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल कक्षमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता भएको थियो । सोका आधारमा रावतलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

काठमाडौंबाट झापा भद्रपुर उडान भर्ने समय त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ । उनले यस सम्बन्धमा सामाजिक सञ्जालमा जानकारी गराउने क्रममा जाथाभावी बोलेकी थिइन् । उनीविरुद्ध उक्त आरोप पुष्टि भए १ वर्षसम्म कैद र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ । गत बुधवार उनले आफ्नो सामाजिक सञ्जाल मार्फत एउटा भिडियो सार्वजनिक गरिन् । गायिका राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री पोस्ट गरिन् ।

उक्त भिडियो हाल सामाजिक सञ्जालमा भाइरल नै भएको छ । १० मिनेट ३१ सेकेन्डको भिडियोमा गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न \ देख्न सकिन्छ । उनले आफुलाई ड्युटीमा रहेकी महिला प्रहरी अभद्र व्यवहार गरेको भन्दै आक्रोशमा उक्त भिडियो लाइभ गरेकी थिइन् । तर , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको बिहीबार सिसिटिभी फुटेज सार्वजनिक भयो ।

कमेन्ट गर्नुहोस्