‘खराबसंगै राम्रा मान्छे पनि छन्’

देश । अभिनेत्री लक्ष्मी वर्देवा थियटर हुदै फिल्ममा आइन् । अभिनयकै कारण फिल्म निर्माता तथा निर्देशकको नजरमा परेकी लक्ष्मीले उमेरको अपरिपक्कताकै कारण आफु पनि कहिँ कतै यौन हिँसाको शिकार हुने अवस्थामा पुगेकी बताइन । ‘अहिलेको अवस्थामा म त्यस्ता कुरा विरुद्ध बोल्न सक्थे तर त्यसबेला सकिन’ उनले भनिन् ,’त्यहाँबाट बचेर फर्किएँ र उक्त घटनापछि मैले कहाँ जाने र कहाँ नजाने भन्ने कुराहरु सिक्ने पाएँ ।’ रंग पत्रकार डिबी खड्काद्वारा लिखित ‘नियत’ नामक पुस्तक पढ्दै गर्दा लेखिएका अक्षरहरुमा आफूलाई महशुस गरेको समेत बताइन । तर , उनले एक जना गलत भएकै कारण यो क्षेत्र छोडिनन् किनकी उनले राम्रो मान्छे पनि भेटेकी थिइन् ।

‘यो क्षेत्रमा १ जना खराब मान्छे भएपनि २० जना राम्रो मान्छे पाएको छु , त्यसैले पछि हटिन्’ उनले बताइन । लक्ष्मीलाई आफूमाथि खराब व्यवहार गर्ने मानिसको फिल्मबाट आएको कलाकारले कतै आफु जस्तै भोग्नु त परेन भन्ने डर छ । ‘उक्त फिल्ममा नयाँ कलाकारहरु नै हुनुहुन्थ्यो त्यसैले त्यो सम्झिदा नि डर लाग्छ’ उनले भनिन् ,’कतै उहाहरुले पनि त्यो पिडाबाट आउनु त परेन ।’ यहाँ गलत नियत भएकाहरु बाचिरहेका छन् । सल्बलाइरहेका छन् । तर, त्यसको विरोध गर्नेहरु पलायन भएका छन् । त्यसमा लक्ष्मीको मन दुखेको छ । ‘नियत’ को विमोचनमा लक्ष्मी झैँ उपस्थित रेखा थापा र स्वस्तिमा खड्काले पनि आफ्नो अनुभव सुनाएका थिए ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार खड्काको पुस्तक ‘नियत’को विमोचन गरिएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय खड्काले यसमा आफ्नो पत्रकारिताको क्रममा देखेको रङ्गीन दुनियाको अध्यारो पाटोलाई उजागर गर्न खोजेको बताएका छन् । उनले नेपाली मनोरञ्‍जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरेको समेत उल्लेख गरे । ‘बाहिरबाट हेर्दा जति चम्किलो छ भित्र त्यति नै अध्यारो’ उनले भने । पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि यो क्षेत्र कहाली लाग्दो रहेको निष्कर्ष उनले निकालेका छन् ।

कमेन्ट गर्नुहोस्