केशवको ‘सपना’

फिल्म । गत वर्षको चैत्र ४ गते चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त भएपछी फिल्म क्षेत्रले केशव भट्टराईबाट धेरै नै आश गरेका थिए । सोहि अनुरुप उनले गतिविधि समेत अगाडी बढाएका थिए । उनले फिल्मकै हितको लागि आफुलाई समर्पण गरे । किनकी उनले फिल्मसँग सम्बन्धित विभन्न संघ संस्थामा रहेर काम गरिसकेका थिए भने यस क्षेत्रमा उनको अनुभव झन्डै तिन दशकको थियो । साथै , उनले निजामती कर्मचारीको रुपमा समेत काम गरेकोले सरकारी तरिका पनि थाहा थियो । भट्टराईको कुरा गर्ने हो भने उनी विक्रम संवत २०२५ साल मंसिर ४ गते ओखलढुंगामा मेघराज भट्टराई र नन्दकुमारीको कोखबाट जन्मिएका हुन् । उनी फिल्म भनेपछि हुरुक्कै हुन्थे ।

विद्युत प्राधिकरणको लगनखेल शाखाको तल्लो तहबाट जागिर सुरु गरेका उनी फिल्मप्रेमकै कारण निर्देशक तुलसी घिमिरेसँग नजिकिएका थिए । उनका नातेदार प्रदीप भट्टराई तुलसी घिमिरेको फिल्ममा पर्दापछाडि रहेर काम गर्थे । उनै प्रदीपले घिमिरेसम्म पुर्‍याएका थिए । बहाना थियो, घिमिरे निर्देशित फिल्म ‘लाहुरे’को सिल्भर जुबिली कार्यक्रम । भीडभाडको यही चिनजानलाई गाढा बनाउँदै उनले घिमिरेको ‘कोसेली’मा एक दृश्यमा अभिनय गर्ने मौका पाएका थिए । १७ दिन लगनखेलबाट बनेपा धाएपछि कोसेलीमा एक दृश्य पाएका थिए । उनले ठुलो भूमिका भने फिल्म ‘चिनो’ मा पाएका थिए । सुटिङ गर्ने क्रममा भारतबाट आएका सामान जोगवनी नाकाबाट सकुशल निकालेपछि बल्ल ‘चिनो’मा ठूलो भूमिका पाएका थिए ।

सोही समयदेखि घिमिरेको निकट रहेका उनी पछिसम्मै घिमिरे क्याम्पका कलाकार भनेर चिनिन्थे । उनले घिमिरेको निर्देशन रहेका ‘दुई थोपा आँशु’, ‘दक्षिणा’, ‘मितज्यु’, ‘रहर’ र ‘बलिदान’मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, ‘बलिदान’पछि भने उनले घिमिरे क्याम्प छाडे । घिमिरेकै फिल्मबाट आर्ट सेक्सनमा काम गर्ने दयाराम दाहालसँग मिलेर फिल्म बनाउन सुरु गरे । दुवैको पहिलो सहकार्य रहेको ‘दौतरी’ सुपरहिट भयो । निर्माणमा दाहालसँगको सहकार्य बाँकी दुई फिल्म ‘ठूल्दाइ’ र ‘कर्मयोद्धा’सम्म चल्यो । जसमध्ये ‘कर्मयोद्धा’ औसत रहे पनि ‘ठूल्दाइ’ ले सय दिन मनाउने फिल्मको कीर्तिमान कायम गर्‍यो।

तर, दुवै फिल्ममा भट्टराई साइलेन्ट प्रोड्युसर रहेको दाहाल बताउँछन्। ‘केशव र म फिल्ममा एकैदिन आएका हौँ,’ उनले भने, ‘‘चिनो’मा उनी कलाकार थिए भने म कला निर्देशकको समूहमा थिएँ। पुरानो साथी भएकाले बोर्डमा हाम्रो असाध्यै राम्रो ट्युनिङ थियो। धेरै काम गरुँला भन्ने थियो तर बीचैमा छाडेर गए।’ भट्टराईले निर्माताका रूपमा ‘आफ्नो मान्छे’, ‘देवरबाबु’, ‘पाहुना’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ आदि फिल्म बनाएका थिए भने तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका थिए ।

भट्टराई फिल्म क्षेत्रमा उदाहरणीय कलाकार थिए । तर, उनी उदाहरणका रूपमा आउँथे, कमाउने र गुमाउने निर्मातामा । ‘आफ्नो मान्छे’ फिल्मबाट लाखौँ कमाएका उनले यही फिल्मको पैसाले काठमाडौँमा घर बनाएका थिए। तर, ‘पाहुना’ र ‘सो सिम्पल’मा नराम्रोसँग डुबेपछि उनी घर बेचेर डेराकै जीवनमा फर्किएका थिए। ‘घरबाट चम्चा पनि नलिई डेराको जीवनमा फर्किएको थिएँ,’ भट्टराई बारम्बार भन्ने गर्थे, ‘नीतिगत रूपमा बलियो नबनाएसम्म धेरै निर्माताको हालत मेरोजस्तै हुन्छ।’

सोमबार बिहान उनको देहावसानको खबर पाएका श्रवण घिमिरेलाई उनको मृत्युको खबर अझै पनि फिल्मझैँ लागिरहेको छ । केही दिनअघि मात्र मोटाएको ज्यान देखेर योगाभ्यास गर्न सुझाएका उनले यति चाँडै अप्रिय खबर सुन्नुपर्ने कल्पना गरेका थिएनन् । ‘पहिला पहिला बिहान हिड्थे तर आजभोली कामको चापले निकै व्यस्त भएको छु’ केशवको उतर श्रवनले सुनाए । उनले केशव घरकै सदस्य झैँ रहेको बताए । ‘उहाँ महिनौँ हाम्रो कालिम्पोङको घरमा बस्नुभएको छ । सुरु–सुरुमा प्रोडक्सनमा हामीलाई खूब सहयोग गर्नुभएको थियो। कलाकारका रूपमा पनि पहिलाका फिल्मको तुलनामा धेरै राम्रो गर्न थाल्नुभएको थियो’ श्रवनले बताए ।

गत वर्षको चैत ४ मा बोर्ड अध्यक्ष नियुक्त भएका भट्टराई २०२६ सालमा बनेको चलचित्र ऐनको भरमा चलिरहेको उद्योगलाई दिशा दिन उनी नयाँ चलचित्र ऐन बनाउने र त्यसलाई पारित गर्ने प्रक्रियामा लागेका थिए । अहिले सो ऐन संसद्मा टेबल भईकन विभिन्न मन्त्रालयमा घुमिरहेको छ। त्यसै गरी, उनले काठमाडौँबाहिर बक्स अफिस कार्यान्वयनमा ल्याउनुका साथै उपत्यकानजिकै इन्डोर स्टुडियो स्थापनाका लागि पनि पहल थालेका थिए । केही दिनअघि मात्र सो ठाउँमा फिल्म म्युजियम स्थापनाका लागि ब्रिटिस काउन्सिलसँग सम्झौतासमेत भएको थियो ।

आइतबार पनि भट्टराई फिल्मकै कामले बेलुकीसम्म सञ्चार मन्त्रालयमा सदस्य सचिव महेन्द्र साँखीसँगै थिए। आउँदो माघमा प्रदेश नं. ५ को भैरहवामा फिल्म महोत्सव गर्ने बोर्डको तयारी थियो। सोही कार्यक्रमको तयारी सञ्चारमन्त्रीसँग ब्रिफ गर्न दुवै साँझसम्म मन्त्रालयमा बसेका थिए । महोत्सवसँगै पछिल्लो समय अगाडी ल्याएको बक्स अफिसको प्रवाभाकारी अनुगमनमा समेत जोड दिएका थिए । ‘वितरक कहाँ आएको हिसाब र हाम्रो बक्स अफिसको हिसाब मिलान गर्ने क्रममा धेरैसँग नराम्रो भएको छ’ एक प्रसंगमा भट्टराईले सुनाएका थिए ।

उनले नेपाली फिल्म र निर्माताको हितका लागि नीतिगत रुपमै अडान लिएर अगाडी बढ्ने तयारी थालेका थिए । यसैगरी स्टुडियो बनाउन उनले बालाजुको जग्गा छानविन गर्न समिति बनाएर निरन्तर छलफलको प्रक्रियामा थिए । देशमा मात्र नभई विदेशमा समेत नेपाली फिल्मको बजार बढाउन उनले प्रभावकारी योजना अगाडी बढाउने तयारीमा थिए । ‘नेपाली फिल्मको ठुलो बजार अष्ट्रेलिया लगायत अन्य केहि देशमा राम्रोसँग फिल्म पुग्ने वातावरण बनाउनु पर्छ’ केहि समय अगाडी मात्र भट्टराईले भनेका थिए ।

यसका साथै उनले नेपालबाट अन्य मुलुकमा उडान भर्ने एअरलाइन्समा समेत नेपाली फिल्म देखाउने प्रावधान मिलाउन लागिपरेका थिए । सम्पूर्ण फिल्मलाई सब टाइटल गरेर फिल्म दिलाउने उनको सोच थियो । यसका साथै उनले पुराना फिल्महरु डिजिटाइजेसन गर्नुका साथै त्यसका सर्जकसँगको भिडियो कुराकानीलाई अर्काइभ गरेर राख्न चाहन्थे । ‘हामीले नयाँ पुस्ताका लागि अर्काइभ बनाउनु पर्छ नत्र इतिहास रहदैन , बेला यहि हो’ उनले भन्ने गरेका थिए । उनले नेपाली फिल्मको गतिविधि एनटिभी न्युजमा समेटिनु पर्ने सोचका साथ एनटीभी अध्यक्ष डाक्टर महेन्द्र विष्टसँग छलफल समेत अगाडी बढाएका थिए । ‘नेपाली फिल्मको बारेमा नेपाल टेलिभिजनले जानकारी दिनु पर्छ , बेलुकीको ८ बजे लगायतका केहि समाचारमा आएमा प्रवर्धन हुन्छ’ उनले भनेका थिए ।

निर्मातासँगै संघ संस्थाको अनुभवले गर्दा उनले धेरै योजना ल्याउने तयारीमा थिए , जसले नेपाली फिल्मनगरीलाई हित गर्छ । तर , उनले अब त्यो सपना बीचमै छाडेर गएका छन् । केहि मन्त्रालयमा पुगिसकेका छन् भने केहि छलफलको क्रममा छन् । अब त्यो सपनालाई अगाडी बढाउने जिम्मा आएको छ , फिल्मकर्मीलाई ।

दिनमा घाम भए रातमा जून

जति हाँसौँ, जति बाँचौँ, दुई दिनको पाहुना दुई दिनको पाहुना ………

  (रङ्ग पत्रकार सामिप्य तिमल्सेनाको सहयोगमा)
कमेन्ट गर्नुहोस्