धरानमा ‘गोर्खा वारियर’ भव्य प्रिमियर

फिल्म । गोर्खालीको वीरताको गाथा समेटिएको नेपाली फिल्म ‘गोर्खा वारियर’को शनिबार धरानमा भव्य प्रिमियर सम्पन्न भएको छ । लाहुरेको शहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाज हलमा गरिएको प्रिमियर हेर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँगै धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राई समेत पुगेका थिए ।

प्रिमियर अघि विभिन्न जातजातिहरुले आफ्नो भेषभुषा र पहिरनमा सजिएर गाजाबाजा सहित धरानको छाताचोकबाट हलसम्म झाँकीसहित पुगेका थिए । संवत मोफसलमा यसकिसिमको भव्य प्रिमियर पहिलोपटक गरिएको छ । उक्त समारोहमा चलचित्रकर्मी तथा अतिथिहरुका सम्मानमा शसस्त्र प्रहरी बलका व्यान्ड टोलीका कलाकारहरुले सो चलचित्रको गीत सहित राष्ट्रिय भावका गीतको धुन प्रस्तुत गरेका थिए । प्रिमियरमा पहिलो शोमा अतिथि नअटाएर दोश्रो शो पनि गर्नु परेको थियो ।

यो प्रिमियरमा गोर्खा वारियर टिमबाट निर्देशक चाम्स, निर्माता सुमन राई, सहनिर्माता ज्योतिराज राई, अभिनेता रितेश चाम्स, रियर राई, विजय लामा, अभिनेत्री रेविका गुरुङ, सञ्चारकर्मी नरेश भट्टराईलगायत सहभागि थिए ।

फिल्म हेर्ने क्रममा मुख्यमन्त्री कार्कीदेखि धरानका मेयर हर्क सम्पाङसमेतले आँसु थाम्न सकेनन् । प्रिमियरमा सहभागी मुख्यमन्त्री कार्कीले निर्देशक चाम्सले गोर्खा सैनिकको जीवन सँघर्षमा उत्कृष्ट फिल्म बनाएको बताए । ‘यो फिल्म मात्र नभएर हामी हरेकको कथा र पहिचान हो । यसलाई हौसला दिनुपर्छ’, मुख्यमन्त्री कार्कीले भने ।

मेयर हर्क साम्पाङले अहिलेसम्म आफुले हेरेको नेपाली फिल्ममा सबैभन्दा बढी मन छोएको बताए । ‘गोर्खा वारियर निक्कै उत्कृष्ट फिल्म बनेको रहेछ । बीर गोर्खाली सैनिकको सँघर्षसँगै पीडाको कथामा बनेको यो फिल्म साँच्चै मार्मिक र ससक्त छ’, मेयर साम्पाङले भने ।

निर्देशक चाम्सले धरानमा सम्पन्न प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित रहेको प्रतिक्रिया दिए । फिल्म हेर्ने सबैले उत्कृष्ट प्रतिक्रिया दिएको निर्माता सुमन राईले बताए । दर्शक खुसी र सन्तुष्टी भएको देख्दा आफुलाई पनि त्यत्तिकै खुसी लागेको पनि उनको भनाई छ । निर्माता राईका अनुसार ११ फागुनबाट देशव्यापी रिलिज हुने यो फिल्मको अब ७ फागुनमा पोखराको मिड टाउन सिनेमा र ९ गते काठमाडौंको बिग मूभिजमा रेड कार्पेट प्रिमियर गरिँदैछ ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो फिल्म चर्चामा छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् ।

विदेशी फिल्म उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले फिल्मलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसियट वितरकको रुपमा रीच इन्टरटेनमेन्ट जोडिएको छ ।

कमेन्ट गर्नुहोस्