रहेनन् गायक तथा सङ्गीतकार आचार्य

सङ्गीत । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज ८२ वर्षको उमेरमा निधन भएको छ । उनको निधन अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै भएको थियो । स्वर्गीय गायक आचार्यको पार्थिव शरीरलाई मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा श्रद्धाञ्जलीका लागि राखिनेछ । विसं १९९९ सालमा धनकुटामा जन्मिएका गयाक आचार्य भजन शिरोमणिको उपाधिबाट चर्चित छन् ।

उनको ’मुटु जलिरहेछ’, ’जति चोट दिन्छौ’, ’जहाँ छन् बुद्धका आँखा’, ’हजार सपनाहरुको’, ’माया मेरी साँझ बिहान’ लगायतका गीतहरू अहिलेको पुस्ता माँझ पनि लोकप्रिय छन् । उनले झन्डै चार सय बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन् । गायक आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । स्वर्गीय गायक आचार्यका एक श्रीमती, दुई छोरा सत्यराज आचार्य र स्वरूपराज आचार्य छन् ।

कमेन्ट गर्नुहोस्