फिल्म। प्रविधिको बढ्दो प्रयोगमा पछिल्लो समय आर्टिफेसियल इन्टिलेजेन्स (एआई) को लोकप्रियता बढ्दो छ। एआई प्रविधिमार्फत आफूलाई आवश्यक सामाग्री तयार गर्ने प्रचलन विश्वभर बढिरहेको सन्दर्भमा यसै प्रविधिमार्फत नेपाली फिल्मको पोस्टर तयार गरिएको छ। नेपालमा पहिलोपटक प्रिक्सा टेक्नोलोजीले डेभलप गरेको रिरी (एआई) बाट पोस्टर तयार गरिएको हो।
फिल्मकी मुख्य पात्र सुरक्षा पन्तको तस्विर र कन्टेनलाई रिरीले डेभलप गरेर पोस्टर तयार गरेको हो। परिक्षणमै रहेको रिरीले फिल्मको भाव अनुसार पोस्टर तयार गरेको हो। यसरी तयार भएको पोस्टरलाई निर्माण पक्षले सार्वजनिक गरेको छ। “प्रविधिलाई परिक्षण गर्दै यसको सहायताले प्रचारप्रसार गरिरहेका छौं। यसले विशेषत आत्मनिर्भर फिल्मकर्मीलाई सहायता पुग्छ भन्नेमा विश्वस्त छु’, निर्माता तथा फोटो पत्रकार श्रीधर पौडेलले भने। उनले परिक्षण सफल भएमा आगामी दिनमा प्रिक्साले नि:शुल्क वा शुल्क निर्धारण गरेर सेवा दिने जानकारी दिए। यो सेवा परिक्षण पश्चात मात्र सार्वजनिक रूपमा उपलब्ध गराइने प्रिक्साले जानकारी दिएको छ।
उनले चैत २४ मा रिलिज हुने फिल्म ‘बहाव’ को प्रचारशैली भौतिकको तुलनामा डिजिटल प्रविधिमा बढी केन्द्रित रहेको बताए। प्रमोद कँडेलको निर्देशनमा तयार फिल्ममा अभिनेत्री पन्तसँगै कमलमणी नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।‘जिज्ञाषा, विचार अनि यथार्थको कथा’ मा आधारित फिल्मका निर्माता पौडेलले यसअगाडी नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।
यसमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत, सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिनेजोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ ।












