फिल्म । चर्चित हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी फिल्म ‘लक्का जवान’ को रिलिज डेट परिवर्तन भएको छ । यसअघि चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब चैत २१ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने निश्चित भएको छ । वितरकको सल्लाह अनुसार फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जानकारी टिमले दिएका छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको यो फिल्म ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मको सह-निर्मातामा सुरेन्द्र केसी र दीपेन्द्र खनिया छन् । ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।
फिल्ममा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । फिल्ममा वर्षाले प्रहरी अफिसरको भूमिका निभाएकी छन् । ‘लक्का जवान’ मा सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिएको निर्देशक शिवहरी बताउँछन् । फिल्मलाई उपत्यकामा गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । फिल्मको नयाँ रिलिज डेटको बारेमा वितरक गोपालले जानकारी दिएका हुन् ।










