अक्षयको फिल्ममा अजय र रणवीरको केमियो

फिल्म । पछिल्लो फिल्ममा प्राय सोसल ड्रामामा देखिएका बलिउडका खिलाडी एक्टर अक्षय कुमारलाई एक्सन सिनमा हेर्न दर्शक उत्सुक छन् । झन् यसपटक उनका निर्देशक छन् , रोहित शेट्टी । यी दुइले मिलेर एक्सन ड्रामा सूर्यवंशीलाई दर्शकसामु ल्याउँदै छन् । पछिल्लो समय निर्देशक रोहित ‘सूर्यवंशी’ को काममा व्यस्त छन् ।

अक्षय कुमारलाई पुलिस अफिसरको भूमिकामा लिएर प्रस्तुत हुदैछन् , रोहित । यसैले गर्दा पनि चर्चा बढ्दो छ किनकी खिलाडी एक्टरलाई एक्सन अवतारमा दर्शकले नदेखेको लामो समय नै भईसकेको छ । करण जोहरको पनि निर्माणमा सहकार्य रहने फिल्मलाई आउँदो वर्ष सन् २०२० मा दर्शकले हेर्न पाउनेछन् । साथै , प्राय साउथ इण्डियन फिल्मलाई रिमेक गर्दै आएका रोहितले सूर्यवंशीको लागि कथा पनि उतैबाट चयन गरेका छन् ।

यो फिल्म शिव राजकुमारको अभिनय रहेको कन्नड फिल्म ‘तगारु’ को रिमेक हुनेछ । फिल्ममा शिवले निडर पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् । तर यो फिल्म सिन टु सिन रिमेक नहुने बताइएको छ । यसको कथामा देखिएको कमजोरीलाई सुधार्दै पटकथा तयार गरिएको छ । यसैगरी फिल्ममा अक्षयको को-स्टार कट्रिना कैफ हुनेछिन् । यसैबीच फिल्मको क्लाइमेक्सको छायाँकन हैदराबादमा सुरु भईसकेको छ ।

फिल्मको क्लाइमेक्समा अक्षय र कट्रिनासँगै दर्शकले अजय देवगन र रणवीर सिंहलाई पनि हेर्न पाउनेछन् । अजय र रणवीरले पनि सेट ज्वाइन गरिसकेका छन् । हलिउड शैलीमा रोहितले फिल्मको कथालाई एक अर्कासँग लिंक गरेका छन् । अर्थात् सिंघम , सिम्बा र सूर्यवंशीको कथा एक अर्कासँग क्लाइमेक्समा जोडिनेछ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय र रणवीरलाई केमियो गराएका हुन् । स्क्रिप्टको काममा रहेका रोहितले त्यसपछी सिंघमको तेस्रो सिरिजको निर्देशन गर्नेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्