फिल्म । मार्भल स्टुडियोजको आगामी फिल्म ‘एभेन्जर्स: डुम्सडे’ मा यसपटक एक्स मेन पात्रहरूको औपचारिक प्रवेश हुने भएको छ । चर्चित ‘एक्स मेन’ फ्रेन्चाइजका अभिनेता प्याट्रिक स्टुअर्ट, इयान म्याककेलन र जेम्स मार्सडेनले आफ्ना पुराना भूमिकामा पुनरागमन गरेका छन् । हालै मर्भालले सार्वजनिक गरेको तेस्रो टिजरमा इयान म्याककेलनले निभाएको म्याग्नेटोको आवाज सुनिन्छ, जहाँ जर्जर अवस्थामा रहेको एक्स मेनको महल देखाइन्छ । म्याग्नेटो भन्छन्, ‘मृत्यु सबैका लागि आउँछ । यो एउटा मात्र कुरा हो, जसमा म निश्चित छु ।’
त्यसपछि प्रोफेसर एक्सको भूमिकामा प्याट्रिक स्टुअर्ट देखिन्छन् । उनी म्याग्नेटोसामु बसेका छन् र आवाजमा प्रश्न उठ्छ, ‘प्रश्न तपाईं मर्न तयार हुनुहुन्छ कि होइन भन्ने होइन । प्रश्न यो हो, आँखा बन्द गर्दा तपाईं को हुन चाहनुहुन्छ?’ लामो समयका प्रतिद्वन्द्वी रहँदै आएका यी दुई पात्र चेसबोर्डमाथि हात समात्दै एक अर्कालाई मुस्कान साट्छन् ।
भावुक दृश्यपछि जेम्स मार्सडेनको साइक्लोप्स देखिन्छन्, जो घुँडा टेकेर चिच्याइरहेका छन् र आँखाबाट आफ्ना प्रसिद्ध रातो ऊर्जा किरण प्रहार गरिरहेका छन् । उक्त भिडिओको अन्त्यमा ‘द एक्स मेन विल रिटर्न इन एभेन्जर्स: डुम्सडे’ भन्ने कार्ड देखाइन्छ । फिल्ममा च्यानिङ टाटमको ग्याम्बिट, एलन कमिङको नाइटक्रलर, रेबेका रोमिनको मिस्टिक र केल्सी ग्रामरको ह्याङ्क म्याककॉय (बीस्ट) पनि देखिने पक्का भइसकेको छ ।
फिल्मको कथावस्तु बहुआयामिक हुने बताइएको छ । यसमा यस वर्षको फिल्मबाट ‘न्यु एभेन्जर्स’, एन्थोनी म्याकेले निभाएको क्याप्टेन अमेरिका (स्याम विल्सन) को नेतृत्वमा बनेको टोली, साथै मल्टिभर्सका पात्रहरू मूल ‘एक्स मेन’ टोली र हालको ‘फ्यान्टास्टिक फोर’ एकैसाथ देखिनेछन् । यी सबै पात्रहरू रोबर्ट डाउनी जुनियरले निभाएको डाक्टर डुमसँग आमनेसामने हुनेछन् । डाक्टर डुमको आगमन ‘फ्यान्टास्टिक फोर: फर्स्ट स्टेप्स’ को पोस्ट क्रेडिट दृश्यमा संकेत गरिएको थियो ।
‘एक्स मेन’ केन्द्रित यो टीजर यसअघि सार्वजनिक गरिएका दुई टीजरपछि आएको हो, जसमा क्रिस इभान्सको स्टिभ रोजर्स र क्रिस हेम्सवर्थको थोरको पुनरागमन देखाइएको थियो । ‘एभेन्जर्स: डुम्सडे’ आगामी डिसेम्बर १८ मा विश्वभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउनेछ ।










