फिल्म । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ। हरर जनरामा निर्माण भइरहेको फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो। फिल्मको तीन रात काठमाडौंमा पनि छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा उपासना सिंह ठकुरी र कुन्दनमान शाक्यको मुख्य भूमिका छ। यस्तै, अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायतका कलाकारको पनि अभिनय छ।
फिल्ममा वशिष्ट प्रधानको डीओपी, ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट र ओविद उद्दिनको निर्देशन छ। छायांकन समयमै सकिनुको श्रेय सम्पूर्ण टिमको मेहनतलाई जाने निर्देशक उद्दिनले बताए।
‘हामीले निकै मिहिनेतका साथ काम गर्यौं। फिल्मको सम्पूर्ण टिमले निकै मिहिनेत गरेका कारण समयमै छायांकन सकिएको हो,’ उनले भने। आफूलाई पहिलेदेखि नै हरर फिल्म मन पर्ने भएकाले यस विधाको फिल्म निर्माणतर्फ आकर्षित भएको उद्दिनले बताए। फिल्ममा महेश बराल मुख्य सहायक निर्देशकका रूपमा छन्।











