
फिल्म । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृंखलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए ।
‘मलाई यो शृंखलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ’, गृहमन्त्री लामिछानेले भने । उनले सामान्य रुपमा आम दर्शकसँगै बसेर फिल्म हेरेका हुन् ।
चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको तेस्रो दिन होली भएता पनि दर्शक हलमा भरीभराउ छन् । निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ लगायत होली कार्यक्रमसँगै प्रदर्शनको तेस्रो दिन आइतबार पनि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दशक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् ।
दर्शक प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई दर्शकले रुचाउनु भएको बताए । ‘यसपटक फिल्मलाई मनोरञ्जनमा मात्र सिमित नराखी राष्ट्रिय विषयलाई उठाएका थियौँ । सोही कारण जात्राबाट यसपटक महाजात्रा भयो । दर्शकले दुवै पक्षलाई रुचाउनु भएको छ । हामी दर्शकबाट सफल भएका छौँ । उहाँहरूले नै फिल्म हेर्न सिफारिस गरिरहनु भएको छ’, अभिनेता बानियाँले भने,‘हामीले दर्शकबाट पाइरहेको आशिर्वादले हाम्रो १४ महिनाको दुखलाई भुलाएको छ ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।











