फिल्म । जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ फिल्म ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ। निर्माण टिमले फिल्मको शीर्षक सार्वजनिक गर्दै यसको क्रेडिट लाइनसमेत घोषणा गरेको छ।
‘द प्रोफेसनल गाइज’को लेखन तथा निर्देशन मार्टिन भण्डारी र डार्विन श्रेष्ठले गर्नेछन्। त्यस्तै, सह–लेखक तथा क्रिएटिभ डाइरेक्टरमा अमन श्रेष्ठ रहेका छन्। फिल्मका निर्माता अमन श्रेष्ठ र डार्विन श्रेष्ठ हुन् भने सह–निर्मातामा मार्टिन भण्डारी रहेका छन्।
‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्…’ नारा (स्लोगन)का साथ फिल्मको घोषणा गरिएको हो। फिल्मको शीर्षक (टाइटल) घोषणा भने निकै रोचक ढङ्गले गरिएको छ। निर्माण टिमले एक विशेष भिडियो सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। भिडियोमा प्रयोग गरिएका शब्द, प्रस्तुति र शैली अन्य सामान्य शीर्षक घोषणाभन्दा फरक तथा आकर्षक देखिन्छन्।
घोषणा भिडियोमार्फत नै फिल्मप्रति कौतुहलता सिर्जना गर्ने प्रयास गरिएको छ। फिल्ममा को–को कलाकार रहनेछन्, कथा तथा विषयवस्तु के हुनेछ र निर्माण तथा प्रदर्शन मिति कहिले तय हुनेछ भन्ने विषयमा भने निर्माण पक्षले थप जानकारी सार्वजनिक गर्न बाँकी छ।











