कमेडी च्याम्पियनमा छानिए टप २४

टिभी । पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी शोको क्रेज बढ्दो छ । गायनसंगै नेपाल भित्रिएका एडभेन्चरस शोले दर्शकको साथ पाउँदै टीआरपी बढाउँन मदत गरिरहेका छन् । तर , कमेडी शो भने निकैकम छ । दशक अगाडी तीतो -सत्य , मेरी बासै र जिरे खुर्सानी आउने समयमा परिवारनै टिभीको लागि समय छुट्याउथिए । तर , पछिल्लो समय यतिबेला समय फेरिएको छ । किनकी सिरियल त छैनन् नै नयाँ हास्यकलाकारले पनि दर्शकको मन जित्न सकेका छैनन् ।

मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै किरण केसी , राजाराम पौडेलपछी टिभीमा उदाएका दीपकराज गिरी , जितु नेपाल , केदार घिमिरे , सिताराम कट्टेल , दीपाश्री निरौला , कुन्जना घिमिरेपछी कमेडीमा ‘भद्रगोल’ को अघिल्लो टीम बाहेक अन्यले दर्शक माँझ परिचय बनाएका छैनन् । या , भनौ दमदार कमेडियन आएका छैनन् । यहि अभावलाई पनि केहि परिपुर्ती गर्ने उदेश्यको साथ् ‘कमेडी च्याम्पियन’ आउने भएको छ । केहि समय अगाडी घोषणा गरिएको यस रियालिटी शोले अघिल्लो साता मात्रा डिजिटल अडिसनसंगै फिजिकल अडिसन गरेर टप २४ छनौट गरेको छ ।

डिजिटल अडिसनमा मोबाइल एप , वेबसाइट , सामाजिक सञ्जाल पेजसंगै रेडियो अडियो मार्फत सहभागी दुइ हजार प्रतियोगी मध्येबाट निर्णायक मण्डलले एक सय पाँच छनौट गरेको हो । गत असोज २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ छनौट भएका हुन् । उनीहरुले प्रत्यक्ष रुपमा निर्णायक माँझ आफ्नो कला प्रस्तुत गरेका थिए । जसलाई वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई को निर्णायक मण्डलले छनौट गरेको थियो । २४ छनौट प्रतियोगी मध्य २ भारतको दार्जिलिंग र असामका रहेका छन् ।

छनौट भएका २४ लाई कमेडी च्याम्पियन टिमले नै क्लोज क्याम्पमा राखेर मोनिटर गर्नेछ । उक्त प्रतियोगी मध्यबाट टप १५ लाई निर्णायकले नै छनौट गर्नेछन् भने त्यसपछि भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्नेछ । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो बिशाल भण्डारीको निर्देशनमा तयार हुने छ ।

पछिल्लो समय विदेशी फ्रेनचाइजको शोहरु बढ्दै गर्दा आफ्नोपन बोकेको कमेडी च्याम्पियनले दर्शकको माया र साथ पाउनेमा निर्देशक भण्डारी विश्वस्त छन् । शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गर्नेछिन् । शो ७५ प्रतिशत स्क्रिप्टेड हुनेछ , जसलाई शान बस्न्यातले लेख्नेछन् । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कार्यक्रम छिटै नै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । यसलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ । वेलकम एड्भरटाईजीङको बजार व्यस्थापन रहेको शोको टेक्निकल पाटोलाई शन बिले हेर्नेछन् ।

कमेन्ट गर्नुहोस्