फिल्म । गत वैशाख २० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ ले राजधानी स्थित ३ हलमा ५१ औ दिन पार गरेको छ । गुण सिनेमा ग्वार्को , गोपीकृष्ण मुभिज चबाहिल र अष्टनारायण पिक्चर्स बाइपासमा यसले प्रदर्शनको ५१ औ दिन पार गरेको हो । ५१ दिनको आयोजित समारोहमा फिल्मकर्मी , मिडियाकर्मी र दाल भात तरकारी युनिटको उपस्थिति रहेको थियो ।
मह सञ्चारको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता किरण केसी हुन् । निर्माण पक्षका अनुसार यसले ६ करोड आसपासमा ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मले मिश्रित प्रतिक्रिया पाईरहदा आयोजित ५१ औ दिनको समारोहमा कथा, पटकथा तथा लेखक हरिवंश आचार्यले अरु सबै पाटोको प्रशंसा गर्दै आलोचनाको जिम्मेवारी आफूले लिने बताए ।
‘प्राविधिक , कलाकार , निर्देशक सबैलाई बधाई छ , आलोचनाको जिम्मा म लिन्छु’ हरिवंशले भने । लेखन उनकै भएकोले उनले जिम्मा लिएका हुन् । ‘हामीले रेगुलर भन्दा केहि नयाँ प्रयोग गर्न खोजेका थियौ’ उनले भने । साथै , उनले फिल्म निर्माणलाई परिक्षासंग तुलना समेत गरे । ‘परिक्षा जस्तै यसमा पनि कहिले फेल र पास भइन्छ , आउँदा दिनमा गुनासो कम गर्ने प्रयास रहनेछ ।’ आयोजित समारोहमा निर्माण टिमले प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण गरेको थियो ।
साथै , नायिका आँचल शर्मालाई भने आइफोनको पछिल्लो भर्सन उपहार दिइयो । सुदन केसीको निर्देशनमा तयार भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ । कार्यक्रममा नायक भूवन केसी, रमेश उप्रेती , नायिका करिश्मा मानन्धर , सन्जोग कोइराला , चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई , निर्देशक प्रदीप भट्टराई , निर्देशक प्रचण्डमान श्रेष्ठ पनि पुगेका थिए ।
तस्वीरहरु : आर्यन बिमली



























