फिल्म । समुन्द्र भट्टको निर्देशनमा बनेको फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ले दर्शकबाट सतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ । सामाजिक सञ्जाल र युट्युबमा यो गीत र अभिनेता नाजिर हुसेनको अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ । लैंगिक अल्पसंख्यक (पारालैंगिक) पात्रको कथामा आधारित यो फिल्मको उक्त गीतमा नाजिरले तेस्रोलिंगी महिलाको भूमिका निर्वाह गरेका छन् । उनको अभिनय र नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ ।
लेखु सहयात्रीको शब्द र संगीतमा बनेको यो गीतमा मनिषा पोखरेलको स्वर छ । यो फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ । नेपालको पहिलो पूर्णरूपमा ट्रान्स स्टोरीमा बनेको यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले लिएको छ ।
फिल्मको पोस्ट प्रोडक्सन हलिउड शैलीमा भएको छ। सम्पादन, रङ, मिक्सिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिकको काम बाहिर गरिएको छ । हलिउडकी गायिका लिजा जेरार्ड (‘ग्ल्याडिएटर–२’ फेम)ले स्वर दिएकी छन् भने मार्सेलो दी फ्रान्सिसीले ब्याकग्राउन्ड म्युजिक तयार गरेका छन् ।
नेपाली र अमेरिकी प्रोडक्सन हाउसको सहकार्यमा बनेको यो फिल्ममा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता छन् । आलोक शुक्लाले खिचेको यो फिल्म अमेरिकाको तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।










