सङ्गीत । लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडास्थित ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा आज ‘नेपाल फेस्टिभल २०२४’ हुँदैछ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने महोत्सवमा सहभागी हुन् गायक हिमाल सागर क्यानाडा पुगेका छन् । उनले नेपाली माँझ आफू प्रस्तुती दिन अधैर्य रहेको बताए ।
‘नेपालीहरूको माँझमा दिने प्रस्तुतीको तयारी भईसकेको छ । क्यानाडामा रहनुभएका नेपालीसँग भेटघाट गर्दै गीतसङ्गीतमार्फत नेपालकै महसुश गराउने प्रयास गर्नेछु । प्रवासका नेपालीलाई लक्षित गर्दै गरिने यस्ता नेपाली महोत्सवमा आफ्नो प्रस्तुती दिन म सधै तत्पर रहने गर्छु’, गायक हिमालले भने ।
नि:शुल्क सहभागी हुन् पाइने एक दिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए ।
‘यो क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहर हो । त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएको गतिविधी गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजना गर्दैछौँ । यसले क्यानाडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ । महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुश गर्नु हुनेछ’, भण्डारीले भने ।
महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकी र लाखे नृत्य प्रस्तुत हुनुका साथै गायक हिमाल सागरसँगै स्थानीय कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिनेछन् ।











