प्रिमियरमा ‘बा : एक योद्धा’ हेर्दा रसाए सेलिब्रेटीको आँखा

फिल्म । यहि शुक्रबार अर्थात् असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’ले काठमाडौंमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । मंगलबार साँझ आयोजित प्रिमियरमा सहभागी फिल्मकर्मी, कलाकार, संगीतकर्मी तथा पत्रकारले फिल्मलाई नेपाली समाजका धेरै परिवारको यथार्थसँग जोडिएको कथा भन्दै प्रतिक्रिया दिएका छन् ।

नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रदर्शनबाट पनि सकारात्मक प्रतिक्रिया पाएको फिल्मले विशेषगरी सन्तानका लागि बुवाले गर्ने त्याग, संघर्ष तथा बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको केन्द्रमा राखेको छ।

रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढेसँगै घरमा रहेका वृद्ध बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई फिल्मले उठाएको छ। सन्तानको भविष्यका लागि जीवनभर संघर्ष गर्ने बुवाआमा र परदेश पुगेपछि परिवार तथा अभिभावकप्रतिको जिम्मेवारीबाट टाढिँदै जाने सन्तानबीचको द्वन्द्वलाई फिल्ममा प्रस्तुत गरिएको छ।

प्रिमियरमा सहभागी दर्शकले फिल्मको कथा धेरै परिवारसँग जोडिन सक्ने प्रतिक्रिया दिएका छन्। विशेषगरी आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने अपमान, बेवास्ता र पीडालाई पर्दामा प्रस्तुत गरिएकाले फिल्मले दर्शकलाई आफ्नै घरको कथा महसुस गराउन सक्ने उनीहरूको भनाइ थियो।

अभिनेता हरिवंश आचार्यले फिल्म हेरेपछि आफू भावुक बनेको बताए। उनले वर्तमान समाजमा युवाहरूको बढ्दो अपेक्षा र पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई फिल्मले प्रस्तुत गरेको बताए।

आफूले भोगेको बुवाको समय र फिल्मको परिवेश फरक भए पनि आधुनिक समाजको वास्तविकतासँग फिल्मको कथा नजिक रहेको उनको भनाइ थियो। ‘मलाई चलचित्र राम्रो लाग्यो। रुन मन लाग्यो। सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ,’ उनले भने।

आचार्यले आफ्ना सन्तानको इच्छा पूरा गर्नु नै बुवाआमाको सबैभन्दा ठूलो चाहना हुने उल्लेख गर्दै फिल्मले यही भावलाई एउटा बुवाको चरित्रमार्फत प्रस्तुत गरेको बताए।

उनले दिव्यदेवले निर्वाह गरेको बुवाको भूमिकाको पनि प्रशंसा गरे। फिल्मको सुरुवाती ४०–४५ मिनेटमा कथा विस्तारै अघि बढेजस्तो लागे पनि त्यसपछि फिल्मले दर्शकलाई समात्दै लैजाने उनको प्रतिक्रिया थियो।

‘सबै कलाकारको पर्फर्मेन्स एकदमै राम्रो छ। टेक्निक्ली पनि क्यामेरा र अरू सबै राम्रो छ। समष्टिगत रूपमा चलचित्र राम्रो लाग्यो,’ उनले भने।

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले ‘बा : एक योद्धा’लाई उत्कृष्ट फिल्मका रूपमा व्याख्या गरे। उनले फिल्मको कथावस्तु, प्रस्तुति र सन्देश तीनवटै पक्ष प्रभावकारी लागेको बताए। उनका अनुसार फिल्मले अहिलेको समाजमा बढ्दै गएको स्वार्थ र त्यसले पारिवारिक सम्बन्धमा पारिरहेको असरलाई देखाएको छ।

‘हाम्रो आफ्नो जनजीवनमा जे अवस्था छ, कथावस्तुले त्यसलाई समेटेको छ। कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,’ उनले भने।

अभिनेत्री ऋचा शर्माले फिल्मलाई ‘एकदमै मिठो’ प्रतिक्रिया दिइन्। उनले अभिनेत्री झरना थापाको अभिनयको प्रशंसा गर्दै सुहाना थापाको अभिनयमा पनि क्रमशः निखार बढ्दै गएको बताइन्। फिल्मको मुख्य आकर्षणका रूपमा उनले अभिनेता दिव्यदेवलाई उल्लेख गरिन्।

‘यो सिनेमाको सुपरस्टार को हो भन्ने हामी सबैलाई थाहा छ, दिव्य देव पन्त,’ उनले भनिन्, ‘उहाँजस्तो कलाकारले सफलताको शिखर चुम्नुपर्छ भन्ने मेरो बुझाइ हो।’

कलाकारको सहज देखिने अभिनयका पछाडि ठूलो मेहनत हुने उल्लेख गर्दै ऋचाले दिव्यदेवको अभिनयमा आफूले त्यही मेहनत देखेको बताइन्। ‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि फिल्मले आफूलाई भावुक बनाएको बताइन्। विशेषगरी दिव्यदेवले निर्वाह गरेको बुवाको चरित्र र फिल्ममा आउने ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले आफूलाई निकै छोएको उनको प्रतिक्रिया थियो।

‘धेरै ठाउँमा रुवायो। अझ स्पेशली ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले निकै छोयो। त्यो कस्तो निरीह अवस्था ! कसैको बुवा अथवा कसैको जिन्दगीमा त्यस्तो अवस्था नआओस् भन्ने लाग्यो,’ उनले भनिन्। सन्तानले बुवाआमाप्रति आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै उनले फिल्मले यही विषयलाई गम्भीर रूपमा सम्झाएको धारणा राखिन्।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो। वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।

कमेन्ट गर्नुहोस्