सम्पर्कमा आउला त ‘विक्रम ल्यान्डर’ ?

Pic Credit :- ISRO

विदेश । केहि समय यता भारतको चन्द्रयान २ मिशन निकै चर्चामा छ । यसको विक्रम ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो । तथापी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई भारतको आट नै सफलता भएको भनेका छन् ।

विक्रम ल्यान्डरबाट निराशा प्राप्त भएपनि चन्द्रयान-२ को अर्बिटर चन्द्रमाको कक्षमा आफ्नो काम गरिरहेको छ । अर्बिटरमा कैयौँ वैज्ञानिक उपकरण जडिएका छन् जसले अहिलेसम्म काम गरिरहेका छन् । चन्द्रमा पानीको खोजी भारतको मुख्य लक्ष्य थियो त्यो काम अर्बिटरले गरिरहेको र भविष्यमा त्यसबाट तथ्याङ्कहरू प्राप्त हुने बताइएको छ ।

यद्धपि वैज्ञानिकहरुले विक्रम ल्यान्डरसँग सम्बन्ध स्थापित गर्ने कोशिश गरिरहेका छन् । यो वैज्ञानिक मिशन पूरा गर्न ११ वर्ष लागेको थियो । यसैले पनि वैज्ञानिकहरु अझै आशावादी छन् । यदि अवतरण गर्न पाएको भए भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बन्ने थियो । यसअघि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान-२ मिशनको एउटा यान विक्रम ल्यान्डर योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला सम्पर्क विच्छेद हुन पुगेको बताएको थियो ।

यद्दपी इसरोले विक्रम ल्यान्डर सकुशल रहेको भन्दै सम्पर्क स्थापित गर्न प्रयासरत छ । ल्यान्डिङले असर नगरेपछि पुनः त्यहि कक्षमा विक्रम ल्यान्डर आएमा सम्पर्क हुन् सक्ने भारतीय वैज्ञानिकले बताएका छन् । १५ करोड अमेरिकी डलर लगानी गरिएको यस मिशनलाई अन्य देशले सोही कामका लागि गरेको लगानीको तुलनामा कम खर्चिलो मानिएको थियो । यसअघि सन २००८ मा भारतले चन्द्रयान-१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको कुरा पत्ता लगाएको थियो । चन्द्रयान-२ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्