सेलेब्सले रुचाए नम्रताको ‘जाइरा’

फिल्म । गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘जाइरा’ लाई सेलेब्सले हेरेका छन् । आयोजित सेलिब्रेटी शोमा फिल्म हेरेकाले नम्रता श्रेष्ठ अर्थात जाइराको अभिनय र कामको प्रसंसा गरेका छन् । आशुतोष राज श्रेष्ठ निर्देशित यस फिल्मको मंगलबार साँझ राजधानीको कुमारी हलमा ‘सेलिब्रेटी शो’ आयोजना गरिएको थियो । अभिनेता भुवन केसीले फिल्मले उठाएको विषयवस्तु फरक रहेको बताए ।

‘फिल्ममा कलाकारको मेहनत देखिन्छ त्यसैले फिल्म हेर्न आग्रह गर्छु’ उनले बताए । अभिनेत्री गौरी मल्लले पनि अभिनेता भुवनकै कुरामा सहमति जनाइन् । ‘राते काइला’ उपनामले परिचित सुनिल थापा पनि अभिनेत्री नम्रताको मेहनतको प्रशंसा गरेर थाकेनन् । नेपालमा ‘जाइरा’ जस्तो फिल्म बन्नु ठूलो हिम्मतको काम रहेको बताउँदै उनले भने, ‘स्पोर्टस् लभर दर्शकले फिल्म नछुटाउँँदा राम्रो हुन्छ। ‘

अभिनेत्री केकी अधिकारीले फिल्म निकै फरक लागेको बताइन् । अभिनेत्री रिमा विश्वकर्माले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन् । निर्देशक विशाल भण्डारीले फिल्मको एक्सन सिक्वेन्स उत्कृष्ट रहेको बताउँदै नम्रताको मेहनत प्रशंसायोग्य रहेको बताए । हास्यकलाकार सन्दिप क्षेत्री पनि नम्रताको प्रशंसा गरेर थाकेनन् ।

फिल्म ‘पर्व’ मा अभिनेत्री नम्रता श्रेष्ठसँँग स्क्रिन साझेदारी गरेका अभिनेता कोशिश क्षेत्रीले आफू दोहोर्‍याएर फिल्म हेर्ने सोच बनाएको बताए । भने , ‘क्याप्टेन’ निर्देशक दीवाकर भट्टराईले आफू नम्रताको तारिफ गरेर नथाक्ने बताए । फिल्मको एक्सन पार्ट राम्रो रहेको उनको भनाई छ ।

‘जाइरा’ मा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । फिल्मको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो । फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।

कमेन्ट गर्नुहोस्