अदालतबाहिरै टुंगियो ब्राड पिट र एन्जेलिना जोलीको स्वामित्व विवाद

फिल्म । अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीबीच फ्रान्समा रहेको वाइन कम्पनीको स्वामित्वलाई लिएर लामो समयदेखि चल्दै आएको कानुनी विवाद अन्ततः अदालतबाहिरै टुंगिएको छ । सम्बन्धविच्छेदपछि चर्किएको उक्त विवाद दुवै पक्षको आपसी सहमतिमा समाधान भएको हो । ‘हामीले आफ्नो परिवारको सर्वोत्तम हितलाई ध्यानमा राख्दै अदालतबाहिरै विवाद समाधान गरेका छौँ। यस विषयमा थप टिप्पणी गर्ने छैनौँ’, दुवै कलाकारका प्रतिनिधिले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सञ्चारमाध्यममा ‘स्रोत’लाई उद्धृत गर्दै प्रकाशित हुने समाचार दुवै कलाकार वा उनीहरूका निकट व्यक्तिबाट प्राप्त जानकारीमा आधारित नहुन सक्ने पनि स्पष्ट पारिएको छ। पिट र जोलीले सन् २००८ मा ‘स्याटो मिराभल’ नामक वाइन कम्पनीको मुख्य सेयर खरिद गरेका थि ए। त्यसको छ वर्षपछि सन् २०१४ मा उनीहरूले सोही ऐतिहासिक फार्म हाउसमा विवाह गरेका थिए । ‘स्याटो मिराभल’ उच्च गुणस्तरको रोजे वाइनका लागि विश्वभर चर्चित छ।

ब्राड पिटले एन्जेलिना जोली विरुद्ध दायर गरेको मुद्दामा आफूलाई जानकारी नदिई वाइन कम्पनीमा रहेको आफ्नो हिस्साको सेयर रुसी व्यापारी युरी शेफ्लरको नियन्त्रणमा रहेको लक्जम्बर्गस्थित मदिरा कम्पनीलाई बिक्री गरेको आरोप लगाएका थिए ।

पिटका अनुसार उनीहरूबीच एकअर्काको अनुमतिविना कम्पनीको सेयर बिक्री नगर्ने सहमति भएको थियो। जोलीले उक्त सहमति उल्लंघन गर्दै सेयर बिक्री गरेको र त्यसबाट आफूलाई नोक्सान पुर्‍याउने नियत राखेको पिटको दाबी थियो।

जवाफमा जोलीले पिटविरुद्ध प्रतिमुद्दा दायर गरेकी थिइन्। उनले सन् २०१६ मा निजी विमानमा यात्रा गर्ने क्रममा पिटले मादक पदार्थ सेवन गरी आफू र बालबालिकामाथि दुर्व्यवहार तथा गालीगलौज गरेको आरोप लगाएकी थिइन्। उक्त घटनापछि जोलीले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन्। यद्यपि, प्रहरी अनुसन्धानपछि पिटमाथि कुनै अभियोग लगाइएको थिएन। उनले जोलीले लगाएका आरोप अस्वीकार गर्दै आएका थिए।

लामो कानुनी लडाइँपछि गत वर्षको अन्त्यतिर उनीहरूको सम्बन्धविच्छेदले अन्तिम रूप पाएको थियो। वाइन कम्पनीको स्वामित्वसम्बन्धी विवाद टुंगिए पनि रुसी व्यापारीको कम्पनी ‘स्टोली ग्रुप’सँग पिटको कानुनी प्रक्रिया भने अझै जारी रहेको बताइएको छ।

सन् २००५ मा फिल्म ‘मिस्टर एन्ड मिसेस स्मिथ’को छायांकनका क्रममा भेटिएका पिट र जोलीलाई सञ्चारमाध्यमले ‘ब्रान्जेलिना’ उपनाम दिएका थिए। उनीहरू एक समय हलिउडका सबैभन्दा चर्चित र लोकप्रिय जोडीका रूपमा चिनिन्थे।

जोलीको यो तेस्रो विवाह थियो। यसअघि उनले बिली बब थोर्नटन र जोनी ली मिलरसँग विवाह गरेकी थिइन्। त्यस्तै, पिटको यो दोस्रो विवाह थियो। यसअघि उनले ‘फ्रेन्ड्स’ अभिनेत्री जेनिफर एनिस्टनसँग विवाह गरेका थिए। यस जोडीका ६ सन्तान छन्। सम्बन्धविच्छेदपछि उनीहरूका ६ मध्ये चार सन्तानले कानुनी रूपमा आफ्नो थरबाट ‘पिट’ हटाएर ‘जोली’ मात्र राखेको हलिउड सञ्चारमाध्यमले जनाएका छन्।

कमेन्ट गर्नुहोस्