फिल्म । नेपाली फिल्म ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । गत असोज ९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा ५१औँ दिन मनाएको हो । बक्सअफिसमा औसत व्यापार गरेको ‘बाः एक योद्धा’ले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाएको थियो । दर्शकको सकारात्मक प्रतिक्रियाका कारण अन्य कतिपय फिल्म हलबाट बाहिरिसक्दा पनि यो फिल्म केही हलमा अझै प्रदर्शन भइरहेको छ ।
बक्सअफिस रिपोर्टअनुसार फिल्मले हालसम्म तीन करोड ५६ लाख आठ हजार १८१ रुपैयाँ ग्रस कमाइ गरेको छ । निर्देशक हरि लम्सालको पहिलो निर्देशकीय फिल्म नै प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको हो ।
पारिवारिक भावना, बुवाको त्याग र सङ्घर्षलाई मुख्य विषय बनाएको फिल्ममा सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई प्रस्तुत गरिएको छ । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।









