फिल्म । भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाटुलो जून’ले सुखद सुरुआत गरेको छ । प्रदर्शनको पहिलो दिनमै फिल्मले एक करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै उत्साहजनक व्यापार गरेको हो । बक्सअफिस स्रोतका अनुसार फिल्मले पहिलो दिन नेपालभरबाट एक करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस अवधिमा फिल्मका ३६ हजार टिकट बिक्री भएका छन् ।
फिल्म हेरेका दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेकाले आगामी दिनमा यसको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ । पहिलो दिनको सुखद व्यापारपछि निर्देशक भुवन केसी, अभिनेता अनमोल केसी, नवअभिनेत्री प्रिन्सी खतिवडा र लेखक सामीप्यराज तिमल्सेनालगायत काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।
निर्देशक तथा अभिनेता भुवन केसीले दर्शकबाट पाएको मायाप्रति आभार व्यक्त गर्दै पुराना दिनको सम्झना आएको बताए । उनले भने, ‘हामीले दर्शकबाट पाएको मायालाई व्यक्त गर्ने शब्द मसँग छैन । मलाई मेरो पुरानो समयका फिल्महरूको याद आयो । हामीलाई विश्वास गरेर हलसम्म आउनुभएका दर्शक सन्तुष्ट भएर फर्किनुभएको छ, यो हाम्रो सफलता हो ।’
भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’ उनको दोस्रो निर्देशकीय फिल्म हो । यसअघि उनले ‘ड्रिम्स’ निर्देशन गरेका थिए । फिल्मले विसं २०४० को दशकको प्रेमकथा प्रस्तुत गर्छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको पटकथा रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय छ ।









