फिल्म । सिनेमाघरमा अभूतपूर्व सफलता हात पारेको फिल्म ‘हनुमान अंश’ अब डिजिटल प्लेटफर्म (ओटीटी) मा आउने भएको छ । फिल्मका निर्माताहरूले सामाजिक सञ्जालमार्फत यसको डिजिटल प्रदर्शनबारे जानकारी दिएका हुन् । यद्यपि, फिल्मको प्रसारण अधिकार र नाफा बाँडफाँटलाई लिएर निर्माताहरूबीच विवाद चलिरहेका बेला ओटीटी प्रदर्शनको घोषणा गरिएको हो ।
हल प्रदर्शनका क्रममा दर्शकको अत्यधिक साथ पाएको ‘हनुमान अंश’ले लगानीको तुलनामा कैयौँ गुणा बढी व्यापार गरेको थियो । हलमा हेर्न छुटाएका तथा पुनः हेर्न चाहने दर्शकलाई लक्षित गर्दै निर्माताहरूले धनतेरसको अवसर पारेर डिजिटल प्रदर्शनको मिति तय गरेका हुन् ।
निर्माताहरूका अनुसार फिल्म आगामी नोभेम्बर २७, २०२६ देखि ‘सोनी लिभ’ एपमा उपलब्ध हुनेछ । फिल्म सन् २०२६ अगस्ट ७ मा सिनेमाघरमा प्रदर्शनमा आएको थियो ।
सामान्यतया हलमा प्रदर्शन भएको एक महिनाभित्रै फिल्म ओटीटीमा आउने प्रचलन छ । तर, सिनेमाघरमा लगातार धेरै सातासम्म दर्शकको उच्च चाप र राम्रो व्यापार कायम रहेपछि यसको डिजिटल प्रदर्शन पछाडि धकेलिएको बताइएको छ ।
विभिन्न रिपोर्टअनुसार फिल्मको व्यावसायिक नाफा बाँडफाँटलाई लिएर निर्माताहरूबीच आन्तरिक विवाद चुलिएको छ । यस विषयमा स्पष्ट पार्दै नम्रता जी सिंह र फिल्मका निर्देशक डा. विशाल चतुर्वेदीले स्वम्भू मिडिया नेटवर्कमार्फत आधिकारिक वक्तव्य जारी गरेका छन् ।
उक्त वक्तव्यमा उनीहरूले फिल्मको कानुनी अधिकार, वितरण प्रक्रिया तथा सञ्चार व्यवस्थापनसम्बन्धी जिम्मेवारीबारे स्पष्ट पारेका छन् । आफूहरू सम्बन्धित कम्पनीको कार्यकारी निर्देशकसमेत रहेको उल्लेख गर्दै उनीहरूले फिल्मको प्रचारप्रसार, बजार व्यवस्थापन, अवार्ड तथा अन्य व्यावसायिक साझेदारीसम्बन्धी जिम्मेवारी र अधिकार क्षेत्रबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
यससँगै फिल्मको अधिकार र स्वामित्वलाई लिएर बाहिर आएका अन्योलबारे मुख्य निर्माताहरूले आधिकारिक धारणा सार्वजनिक गरेका छन् । नीब करोरी बाबाको जीवनमा आधारित यस फिल्मले भारतीय बक्सअफिसमा ४ सय ३ करोड भारु र विश्वव्यापी रूपमा कुल ४ सय ५१ करोड भारुको व्यापार गरेको बताइएको छ । केवल २ करोड भारुको बजेटमा निर्माण भएको यस फिल्मले विश्वव्यापी बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो ।









