फिल्म । दीपकराज गिरी समूहको फिल्म ‘छ माया छपक्कै २’ व्यावसायिक रूपमा असफल भएपछि यसको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । धेरैले फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’को अभिनय नहुनुलाई असफलताको कारण मानेका छन् । तर, बिहीबार एक अन्तर्वार्तामा दीपकले यसलाई ठाडै अस्वीकार गरे । बरु फिल्ममा हास्यरस कम हुँदा दर्शकले रुचि नदेखाएको उनको आशय थियो ।
‘कुनै एक कलाकार हुने वा नहुने कारणले फिल्म असफल भएको म मान्दिनँ । हास्यरस कम भएर हो । ‘माग्ने बुढा’ भएर फिल्म हिट हुने भए उसका सबै फिल्म सुपरडुपर हिट भइहाल्थे नि । एउटा मान्छेले फिल्मलाई हिट बनाउन सक्दैन । तर, ‘छ माया छपक्कै २’को त्यो पात्रमा दर्शकले ‘माग्ने बुढा’ खोजे । किनकि, त्योभन्दा अघि ‘माग्ने बुढा’ले खेलेका थिए’, दीपकले भने ।
दीपकले ‘माग्ने बुढा’का सबै फिल्म सफल नभएको जिकिर गरेपछि केदारले शुक्रबार फेसबुकमा पोस्ट लेख्दै आफ्नो पछिल्लो फिल्म ‘माग्ने राजा’ हिट भएको दाबी गरेका छन् । उनले फिल्मले बक्स अफिसमा मात्रै ४ करोड ७६ लाख रुपैयाँ ग्रस कमाएको उल्लेख गरेका छन् । युट्युब र विदेश राइट्सबाट प्राप्त रकम पनि यही आसपास रहेको उनको भनाइ छ ।
केदारले फेसबुकमा लेखेका छन्, ‘भाद्र ६ गते रिलिज भएको र भाद्र २३ र २४ आन्दोलन भई सबै हल ‘डिस्टर्भ’ भएको थियो । जम्मा १६ दिन मात्रै चल्न पाएको थियो भनि सबैमा जानकारी गराएँ ।’ दीपकको टिप्पणी सार्वजनिक भएलगत्तै केदारले ‘माग्ने राजा’को कमाइको विवरण सार्वजनिक गर्नुले उनीहरूबीचको सम्बन्धमा चिसोपना आएको संकेत गरेको छ।









