फिल्म । बलियो वर्ड अफ माउथका कारण फिल्म ‘बाः एक योद्धा’ले प्रदर्शनको तेस्रो सातामा पनि आफ्नो रफ्तार कायम राखेको छ । दर्शकले फिल्मलाई घरघरको कथा भन्दै हेर्नैपर्ने प्रतिक्रिया दिएपछि यसको प्रदर्शनले निरन्तरता पाएको निर्माण टिमले जनाएको छ ।
कलाकार तथा निर्देशकसहितको निर्माण टिम मोफसलका दर्शकसँग भेटघाट गरेर काठमाडौं फर्किएको छ । टोलीले हेटौंडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ र पोखरालगायत देशका विभिन्न ठूला सहरमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो ।
‘हामीलाई काठमाडौंमा जस्तै मोफसलका दर्शकले पनि साथ दिनुभयो । हेर्नैपर्ने फिल्म भनेर दर्शकले प्रतिक्रिया दिनुभएको छ’, निर्देशक हरि लम्सालले भने, ‘दर्शकको साथ र मायाले फिल्म अहिले प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।’
‘बाः एक योद्धा’को कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीमा केन्द्रित छ। सन्तानका इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले कथाको केन्द्रमा राखेको छ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ।
फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सहनिर्माताका रूपमा रहेका छन्।










