फिल्म । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण तथा निर्देशन भएको फिल्म ‘आचार्य’ले प्रदर्शनको पहिलो दिन नै दर्शकको उल्लेख्य साथ पाएको छ। असोज ९ गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्मले देशभर जारी वर्षाका बीच पनि उत्साहजनक अकुपेन्सी कायम गरेको निर्माण पक्षले जनाएको छ।
पहिलो दिन दर्शकबाट पाएको प्रतिक्रियाबाट उत्साहित अभिनेता तथा निर्देशक निखिल उप्रेतीले व्यापारभन्दा पनि प्रतिकूल मौसमका बीच दर्शक हलसम्म पुग्नु नै आफ्ना लागि ठूलो माया भएको बताएका छन्।
निखिलले भने, ‘व्यापारभन्दा पनि झरीको बेला दर्शक हाम्रो लागि हलसम्म आइदिनुभएको छ, योभन्दा ठूलो माया के हुन सक्छ र ? पानीमा रुझेर काठमाडौंका अधिकांश हलमा दर्शकको खचाखच उपस्थिति देख्दा मन छोएको छ । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको आशा राखेको छु।’
मौसममा सुधार आएसँगै देशभरका दर्शकलाई ‘आचार्य’ हेरेर प्रतिक्रिया दिन आग्रह गर्दै निखिलले ठूलो अपेक्षा नराखी फिल्मलाई नेपालीपन र नेपाली परिवेशमा प्रस्तुत गरिएको एक्सन फिल्मका रूपमा हेर्न आग्रह गरेका छन्। निखिलकै लेखन, निर्माण तथा निर्देशनमा तयार भएको ‘आचार्य’मा उनको एक्सन अवतारसँगै नेपाली परिवेशमा बुनिएको कथालाई प्रस्तुत गरिएको छ।











