‘अमेरिकन आइडल’ बन्लान् त दिवेश ?

संगीत । केहि समय देखि नेपाली पनि गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को दर्शक बनिरहेका छन् । संगीतसँग जोडिएका वा यसमा रुची राख्ने त अघिल्लो संस्करणमा पनि दर्शक थिए नै तर यसपटक भने दिवेश पोखरेलको कारणले आम दर्शकमा पनि चासो छ । इण्डियन आइडलको तेस्रो संस्करणमा नेपाली मुलका प्रशान्त तामाङले जसरि नेपालीहरुको साथ् पाएका थिए , दिवेशलाई पनि उस्तै साथ् छ ।

‘अर्थर गन’ को स्टेज नामले परिचित दिवेशले अमेरिकन आइडलमा छनौट भएदेखि नै नेपालीको साथ पाइरहेका छन् । एकपछि अर्को खुड्किलो पार गर्दै दिवेश टप ७ मा पुगिसकेका छन् । सन् २०१३ मा असंयुक्त राज्य अमेरिका पुगेका दिवेशले अमेरिकन आइडलको १८ औ सिजनमा सहभागिता जनाएका हुन् । जजहरु केटी पेरी , ल्युक ब्रायन , लियोनल रिचीले पनि दिवेशको तारिफ गरिरहेका छन् ।

विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि दौडमा रहेका नेपाली मूलका दिवेशले स्टेजमा नमस्कार गरेर सबैको ध्यान तान्न सफल भएका थिए । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा गाएको ‘किस द गर्ल’ बोलको गीत एनिमेटेड फिल्म ‘द लिटल मर्मेड’को हो । एलान मेनकनका शब्द, होवार्ड एस म्यानको संगीत र स्यामुअल ई. राइटको स्वरमा यो गीत सर्वप्रथम सन् १९८९ मा रिलिज भएको थियो।

अमेरिकाको एबिसी टेलिभिजनबाट प्रशारण हुने अमेरिकन आइडललाई लिएर नेपाली उत्तिकै जिज्ञाशु बन्न थालेका छन् । अमेरिकन आइडलको स्टेजबाट संसारलाई नेपाल चिनाइरहेका दिवेशले हजारौं फ्यान कमाएका छन् । ‘न्यानो घर’,’मन’,’समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरेर युट्युबमा फ्यान बटुलिरहेका दिवेशले अमेरिकन आइडल प्रवेश पाएसँगै ठुलो फ्यान फ्लोअर्स लमायेका छन् ।

दिवेशले पछिल्लो समय शोमा देखाएको आत्मविश्वास र गायनमा ल्याएको सुधारले उनले टाइटल जित्नेमा नेपाली विश्वस्त छन् । उनका लागि नेपालमा विभिन्न किसिमले भोटको लागि अपिल समेत गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को कारण डिजिटल क्याम्पेन मार्फत दिवेशलाई भोट माग्नेको कमि छैन । स्टेजमा रहेका दिवेशलाई नेपालकै प्रतिनिधिको रुपमा हेर्न थालिएको छ । त्यसैले संगीतप्रेमीले उनलाई भोट गरिरहेका मात्र छैनन् , अपिल पनि गरिरहेका छन् । दिवेशलाई तीन माध्यमबाट भोट गर्न सकिन्छ। एउटा टेक्स्टबाट, वेबसाइट र अमेरिकन आइडलको एपबाट एकजनाले ३० पटकसम्म भोट गर्न मिल्छ ।

कमेन्ट गर्नुहोस्