फिल्म । असोज २ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘झिंगे दाउ २’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्म हेरेर दर्शक भावुक हुँदै हलबाट निस्किएको निर्माण पक्षले जनाएको छ। दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीत–संगीतलाई मन पराएका छन्।
फिल्म प्रदर्शनमा आएको एक सातापछि निर्माण पक्षले नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरेको छ। मार्मिक भावको गीतमा कुशल बेलबासेको स्वर तथा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। गीतमा आमाको अनुपस्थितिमा घरमा सिर्जना हुने पीडा तथा आमाको उपस्थितिले घरमा ल्याउने आत्मीयताको भाव प्रस्तुत गरिएको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्मका सह–निर्मातामा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा छन्।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन र अर्जुन पोखरेलको संगीत छ। रोशन श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन् भने ईश्वर घिमिरे प्रोडक्सन हेड हुन्।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतका कलाकारको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ। नयाँ गीत सार्वजनिक भएपछि फिल्मको भावनात्मक पक्षलाई दर्शकले थप नजिकबाट बुझ्ने निर्माण पक्षको अपेक्षा छ।











