महापुरुष टिमले ‘मोफसल भ्रमण’ गर्दै

फिल्म । अभिनेता हरिवंश आचार्यले फेसबुक ग्रुप एमआरआरसँग दसैँको शुभकामना साटासाट गर्नुभएको छ । युवाहरूको बिचार र सद्भाव राख्ने ग्रुपको रुपमा परिचित एमआरआरका युवाहरुलाई शनिवार आयोजित कार्यक्रममा दसैँ टिका लगाउदै आशिर्वाद दिनुभएको हो । आपसी सद्भाव र सामीप्यताको लागि युवाहरूले बर्षेनी कार्यक्रम आयोजना गर्ने गरेका छन् । ‘दसैँको टिका युवाहरूसँगै मनाउन पाउँदा खुसी लागेको छ । उहाँहरू विचार र सोचले समाजमा प्रभाव पार्नेछ’, अभिनेता आचार्यले भन्नुभयो ।

यस्तै , महापुरुष टिमले मोफसल टुर गर्ने भएको छ । प्रमोशनल टुरमा हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई रहेकाछन् । केही स्थानमा मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने सेड्युल रहेको तथा हाँस्य , संगीत सहितको प्रस्तुति रहने कलाकारसँगै कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले बताए । उनले भने,’हामीले महाभ्रमणमा मनोरन्जनात्मक कार्यक्रम तयारी गरेका छौँ । हामी फिल्मबारे दर्शकलाई विभिन्न प्रस्तुति मार्फत जानकारी दिनेछौँ ।’

उनको अनुसार ‘मोफसल टुर’ अन्तर्गत असोज २५ मा विर्तामोड स्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौडाको हुप्र चौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडी र असोज ३० मा पोखराको हलन चोकमा भेटघाट तथा प्रस्तुति हुनेछ ।

‘दर्शकसँग साक्षात्कार गर्दै फिल्म बारे जानकरी दिनु आतुर छु,’ अभिनेता आचार्यले भन्नुभयो । टुरमा सुमन कार्कीले हाँस्य प्रस्तुति दिनेछन भने निशान भट्टराईले सांगीतिक । सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ , रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन् । यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्